सप्तरीमा खेलौंना विस्फोट हुँदा ४ बालक घाइते


राजविराज र सप्तरीको रुपनी गाउँपालिका–६ दुधैला खोलामा शनिबार शंकास्पद खेलौंना विस्फोट हुँदा ४ जना बालक घाइते भएका छन् ।

वनभोज खान त्यहाँ पुगेका बालकले खोलामा भेटिएको रकेट जस्तो देखिने खेलौना दाउरासँगै जम्मा गरेर राखेका थिए ।

चुल्हो नजिक राखिएको खेलौना अचानक विस्फोट भएको हो ।

विस्फोटको छर्रा लागेर सोही ठाउँका साजन आले मगरका ११ वर्षका छोरा साहस, मनोज थापा मगरका ९ वर्षका छोरा प्रशिस, कर्णबहादुर थापा मगरका १६ वर्षका छोरा कविर र पदमबहादुर विकका १३ वर्षको छोरा सुरज घाइते भएका हुन् ।

चारै जनालाई मधेश प्रदेश प्रहरी अस्पताल रुपनीमा उपचारपछि थप उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज ल्याइएको छ । घाइतेमध्ये साहस र प्राशिसको खुट्टा र शरीरका विभिन्न भागमा र कविर र सुरजको शरीरको विभिन्न भागमा छर्रा लागेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले बालकलाई भेटिएको ती शंकास्पद वस्तु र घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

‘वनभोज खान गएका बालकले ती रकेट जस्तो देखिने खेलौना भेटाएको र सो खेलौना नै विस्फोट भएको बुझिएको छ,’ उनले भने, ‘बालकहरुको स्वास्थ्य अवस्था समान्य छ ।’

Skip This