पाइपलाइन हुँदाहुँदै आर्थिक भार पर्ने गरी ट्यांकरबाट तेल ओसार्ने अनुमति दिन निगमलाई दबाब


काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अमलेखगञ्ज रुटमा पेट्रोलियम ट्यांकर सञ्चालन गर्न दिन नेपाल आयल निगमलाई दबाब दिएका छन् ।

महासंघले निगमलाई पत्राचार गरी उक्त रुटमा विगत झै १०५ वटा ट्यांकरलाई सञ्चालन हुन दिन दबाब दिएको हो । महासंघका महासचिब डेकनाथ गौतमले बरौनी–अमलेखगञ्ज रुटमा ट्यांकर सञ्चालनको लागि निगमलाई पत्र नै काटेर दबाब दिएका छन् ।

‘बरौनी–अमलेखगञ्ज रुटमा नियमित रुपमा पेट्रोल ढुवानी गर्ने व्यवसायीहरुलाई विस्थापित हुने गरी भएको निर्णय तत्काल संशोधन गरि साविक कै विधि प्रक्रिया अनुसार वा व्यवसायीको स्वेच्छाले डिजेल, पेट्रोल, मट्टितेल ढुवानी गर्न पाउने गरी पूर्ववत अवस्थाको रुट बरौनी–अमलेखगञ्ज रुटमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने व्यवस्था मिलाई दिन अनुरोध छ,’ भन्दै महासंघले निगमलाई ति ट्यांकरलाई सञ्चालनको लागि दबाब दिएको हो ।

यसअघि अखिल नेपाल यातायात मजदुर संघले पनि आयल निगमलाई दबाब दिने उद्देश्यले ति ट्यांकरहरु सञ्चालनमा ल्याउन पत्राचार गरेको थियो । संघले प्रादेशिक कार्यालय अमलेखगञ्जले पाइपलाइनमार्फत इन्धन ढुवानी भएको भन्दै अव्यवहारिक रुपमा अमलेखगञ्ज– बरौनी रुटमा ट्यांकर सञ्चालन गर्न अवरोध सिर्जना गरेको आरोप लगाएको छ ।

ती ट्यांकर सञ्चालनका कारण स्वदेशमै सयौं सर्वसाधारणले रोजगारी प्राप्त गरेको अवस्थामा ट्यांकर सञ्चालनमाथि रोक लगाइएको संघको दाबी छ ।

बरौनीस्थित इण्डियन आयल कर्पोरेशन (आईओसी) को रिफाइनरीबाट अमलेखगञ्जस्थित डिपोसम्म पेट्रोलियम पदार्थ ओसार्न पाइललाइनको उपभोग भइरहेको अवस्थामा प्रादेशिक कार्यालय अमलेखगञ्जले निगमलाई अतिरिक्त आर्थिक भार पर्ने गरी ट्याँकरको सहयोगमा बरौनी रिफाइनरीबाट इन्धन आयात गर्दै आएको छ ।

निगमले पाइपलाइनको पूर्ण क्षमतालाई उपयोगमा ल्याउनुको साटो मासिक ५ करोड अतिरिक्त आर्थिक भार पर्ने गरी १०५ वटा ट्याँकरमार्फत इन्धन ओसार्दै आएको छ । अहिले पनि निगमले ति सबै ट्याँकरको सहयोगमा बरौनीबाट इन्धन आयात गर्दैआएको छ ।

प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रलङ्कर आचार्यले केन्द्रीय कार्यालयको निर्देशनअनुसार १०५ ट्यांकरलाई बिजनेस दिइएको जानकारी दिए ।

‘मैले ती ट्यांकरहरुलाई बिजनेस दिएको होइन, केन्द्रीय कार्यालयको निर्देशनमा बरौनीबाट इन्धन ओसार्न उनीहरुलाई काममा लगाइएको हो,’ आचार्यले भने,‘केन्द्रीय कार्यालयले ती ट्यांकरलाई काममा नलगाउनु भनेर नभनेकाले अहिले पनि ती ट्यांकरहरु भारतबाट इन्धन ओसारिरहेका छन् ।’

निगमले अमलेखगन्ज डिपोमार्फत बरौनी रिफाइनरीबाट १०५ ट्यांकरमध्ये रोटेसन(पालैपालो)को आधारमा दैनिक २०–२२ ट्यांकरमार्फत पेट्रोल ढुवानी गर्दै आएको छ ।

अमलेखगञ्ज डिपोले आइओसीको बरौनी रिफाइनरीबाट दैनिक करिब पाँच सय किलोलिटर पेट्रोल ट्यांकरमार्फत आयात गर्दै आएको थियो । यसरी इन्धन आयात गर्दा निगमले प्रति खेप ७८ हजार ३५६ रुपैयाँ ४० पैसाको दरले ट्यांकर धनीलाई भुक्तानी गर्दैआएको थियो । १०४ ट्यांकरले महिनामा औसत ६–६ पटक ढुवानी गर्दैआएका थिए ।

यसरी हेर्दा महिनामा ६२४ ट्रिप हुने र निगमले मासिक चार करोड ८८ लाख ९४ हजार रुपैयाँभन्दा बढी भुक्तानी गरिरहेको थियो । गत वर्ष असोजदेखि कात्तिकसम्म निगमले कम्तीमा ६८ करोड ४५ लाख १६ हजार रुपैयाँ अतिरिक्त भार व्यहोरेको छ ।

ट्याँकरको रुट परिवर्तन गर्दैछौं : प्रवक्ता

निगमका प्रवक्ता मनोज ठाकुरले भने ति ट्याँकरहरुलाई बरौनी–अमलेखगञ्ज रुटबाट बिस्थापित गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

ठाकुरले विभिन्न जिल्लाको एयरपोर्टमा हवाई इन्धन बोक्ने ट्यांकरको अभाव भएकाले १०५ वटै ट्यांकरलाई हवाई इन्धन बोक्ने ट्यांकरमा परिणत गरेर रुट निर्धारण गर्ने प्रक्रिया सुरु भएको बताए ।

उनकाअनुसार काठमाडौं, पोखरा, विराटनगर, नेपालगञ्जलगायतका स्थानको एयरपोर्टमा हवाई इन्धन ढुवानी बोक्ने गरी रुट निर्धारण गर्न लागिएको छ । यसका लागि पुस १२ गतेसम्म ति ट्याँकरहरुलाई आफूलाई पायक पर्ने स्थान छनौट गरी आवेदन दिन भनिएको छ ।

प्राप्त हुने आवेदनको आधारमा पायक पर्ने जिल्लाको एयरपोर्टमा हवाई इन्धन ढुवानी गर्न रुट प्रदान गरिने ठाकुरले जानकारी दिए ।