जेनजी र सरकारबीचको सम्झौता कलाबिहीन भद्दा नाटक: ओली

0
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेनजी र सरकारबीच भएको सम्झौता कलाबिहीन भद्दा नाटक भएको टिप्पणी गरेका छन् ।

बिहीवार राजधानी काठमाडौंमा सम्पादकहरुसँगको संवादमा उनले वर्तमान सरकारले प्रणाली र व्यवस्थाबारे कुनै पनि प्रकारको सम्झौता गर्न नमिल्ने बताए ।

कुनै पनि प्रणाली र व्यवस्थाका बारेमा सम्झौता गर्ने म्याण्डेट यो सरकारले कहाँबाट पायो ? भन्दै उनले प्रश्न गरे ।

सरकार र जेनजीबीच भएको सम्झौता सोही ठाउँमा च्यातेर अस्वीकार भएको भन्दै धेरै टिप्पणी गर्न आवश्यक नहुने तर्क गरे ।

‘हिजो एउटा कलाविहीन नाटक भयो । त्यसमा धेरै भन्नुपर्छ र ? यो सरकारले कुनैपनि प्रणाली र व्यवस्थाका बारेमा सम्झौता गर्ने म्याण्डेट कहाँबाट पायो ? गोबर टाँसेको सरकारले कलाबिहीन नाटक गर्यो नि । त्यहीँ अस्वीकार भयो नि । त्यहीँ च्यातिदियो नि । त्यसकारण त्यो कलाबिहीन भद्दा नाटक हो’ उनले भने ।

उनले संसद पुनःस्थापनाको विकल्प नभएको पनि बताए ।

वर्तमान सरकारले निर्वाचन गराउन नसक्ने जिकिर गर्दै संसद पुनःस्थापन नै अन्तिम विकल्प भएको उनको भनाइ छ ।

ओलीले सुशीला कार्की नेतृत्वको सरकारका क्रियाकलाप पूर्णतः गैरकानूनी र असंवैधानिक रहेको आरोप लगाए ।

जेनजी आन्दोलनको अनुसन्धानका लागि गठित जाँचबुझ आयोगमा बयान दिन जाने कि नजाने आफ्नो व्यक्तिगत कुरा भएको उनले बताए ।

जाँचबुझ आयोगको मनशाय के छ भन्नेकुरा सञ्चारमाध्यमहरुमा आयोगका सदस्यहरुले व्यक्त गरेका अभिव्यक्तिहरुबट पुष्टी भइसकेको उनले बताए ।

वर्तमान सरकार अन्तरिम सरकारमा मात्र नभई असंवैधानकि सरकार भएको उनको आरोप छ । उनले वर्तमान प्रधानमन्त्री कार्कीलाई निर्वाचन गराउन राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेको जिकिर गर्दै कुनै प्रतिष्ठान मास्ने अधिकार नरहेको समेत टिप्पणी गरे ।