
एजेन्सी । भारतको इलेक्ट्रोनिक्स उद्योगका नेतृत्वकर्ताहरूले चिनियाँ कम्पनीहरूसँगको संयुक्त लगानी प्रस्तावहरूलाई स्वतः स्वीकृत हुने बाटोमार्फत अनुमति दिन केन्द्र सरकारलाई आग्रह गरेका छन् ।
तर, उनीहरूले त्यस्ता कम्पनीमा चिनियाँ सेयर स्वामित्वलाई २६ प्रतिशतमा सीमित राख्नुपर्ने प्रस्ताव गरेका छन् ।
इकोनोमिक टाइम्सले अध्ययन गरेका कागजातहरूका अनुसार, कन्फेडरेसन अफ इन्डियन इन्डस्ट्री र इन्डिया इलेक्ट्रोनिक्स एण्ड सेमीकन्डक्टर एसोसिएसन लगायतका धेरै उद्योग निकायहरूले भारतमा उन्नत कम्पोनेन्ट उत्पादन स्थापना गर्न यो कदम महत्त्वपूर्ण रहेको औंल्याएका छन् ।
हालको केस–बाइ–केस (हरेक मामलालाई छुट्टै हेर्ने) मूल्यांकनको साटो चिनियाँ लगानीका लागि निश्चित मापदण्ड बनाउँदा इलेक्ट्रोनिक्स क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीको प्रवाह बढ्ने उद्योगीहरूले सरकारलाई सुझाव दिएका छन् ।
यसैबीच, सूचना प्रविधि मन्त्रालयका अधिकारीहरूले सरकारलाई इलेक्ट्रोनिक कम्पोनेन्ट म्यानुफ्याक्चरिङ स्किमका लागि विदेशी कम्पनीहरूबाट धेरै निवेदनहरू प्राप्त भएको संकेत दिएका छन् । मन्त्रालयका एक अधिकारीले भने, ‘भारतीय इलेक्ट्रोनिक्स बजारमा धेरै चासो छ र विदेशी उत्पादकहरू आउन उत्सुक छन् भनी हामीले अन्य मन्त्रालयहरूलाई जानकारी गराएका छौं । तर सुरक्षा र रणनीतिक चिन्ताहरू कायमै छन् । यो अन्तर–मन्त्रालय स्तरमा छलफल गरिनुपर्ने विषय हो ।’
उद्योग तथा आन्तरिक व्यापार प्रवर्द्धन विभागको वर्तमान निर्देशिका अनुसार, सन् २०२० देखि छिमेकी देशहरूबाट आउने प्रत्यक्ष वैदेशिक लगानीका लागि गृह मन्त्रालय र विदेश मन्त्रालय दुवैबाट पूर्व सुरक्षा स्वीकृति लिनु अनिवार्य छ ।
ईसीएमएस अन्तर्गत हालसम्म स्वीकृत २१ वटा अलग–अलग कम्पनीका २४ वटा लगानी प्रस्तावहरूमा कुनै पनि चिनियाँ कम्पनी समावेश छैनन् । अधिकारीहरूका अनुसार, मन्त्रालयले ईसीएमएस निवेदनहरूलाई समूहगत रूपमा स्वीकृत गर्ने प्रक्रिया अघि बढाइरहेको छ र अन्य प्रस्तावहरू छिट्टै घोषणा गरिनेछन् ।
प्रमुख इलेक्ट्रोनिक्स कम्पनी डिक्सन टेक्नोलोजीले आफ्ना चिनियाँ समकक्षी लङचियर इन्टेलिजेन्स प्राइभेट लिमिटेडसँग संयुक्त लगानी गर्न मन्त्रालयबाट स्वीकृति पाएपछि यस विषयमा उद्योग निकायहरूको सक्रियता बढेको एक उद्योग कार्यकारीले बताए ।
नयाँ जेभी कम्पनी डिक्सटेल इन्फोकममा डिक्सनको ७४ प्रतिशत हिस्सा हुनेछ भने २६ प्रतिशत स्वामित्व लङचियरको हुनेछ ।
लङचियर स्मार्टफोन, ट्याब्लेट, आईओटी उपकरण र स्मार्ट हार्डवेयर जस्ता इन्टेलिजेन्ट उत्पादनहरूको अनुसन्धान, विकास, डिजाइन र निर्माणका लागि विश्वव्यापी रूपमा परिचित छ ।







प्रतिक्रिया