आन्तरिक रेमिट्यान्स रोक्दा समाज र अर्थतन्त्रमा परेका नकरात्मक असरहरु

119
Shares

सुपरमादी हाइड्रो तानतिङमा म कार्यरत रहँदा प्रत्येक तेस्रो महिनामा कम्पनीले दूई महिनाको तलब वितरण गर्थ्यो । मधेशतिर घर भएका धेरै श्रमिक त्यहाँ हुनुहुन्थ्यो । मैले लामो लिस्ट लिएर पोखराबाट हरेकको घर पैसा पठाइदिन्थें ।

साँझ साइटमा पुगेर पैसा पठाएको स्लिप दिएपछि तिनीहरु मुस्कुराउँथे, मलाई त्यो बेला बेग्लै आनन्द अनुभूत हुन्थ्यो । मलाई आफ्नो कम तलबको भरपाई भएजस्तो लाग्थ्यो । सायद त्यो कागजमा उनीहरु  आफ्ना बुवा आमा, छोरा छोरी वा श्रीमतीको झल्को पाउँथे होला । पछिल्लो समय घुमाउरो पाराले आन्तरिक रेमिटका सबै सेवा रोकिएका रहेछन् । अनौपचारिक अर्थतन्त्र सक्रिय भएको भनिएको बन्दको पछाडिको कारण मलाई चित्त बुझेको छैन ।

जब अग्रेजसँग युद्धको घोषणा भयो त्यसपछि लडाकुको रुपमा नेपालीहरु बाहिरिन थाले । आज नेपालको तर्फबाट एउटा शुल्क लिएर लडेका नेपाली भोलिपल्टै त्यसको दोब्बर शुल्क लिएर नेपालविरुद्ध लडेको दुःखद इतिहास हामीसँग छ । हाम्रो इतिहास महेन्द्रमालामा लेखिएको जस्तो गर्विलो नभए पनि स्वाभिमानका लागि लडिएको र तत्कालीन आधुनिक शस्त्र अस्त्र र ठूलो संख्याको फौजसँग साधारण हतियार र सानो फौजले गरेको प्रतिकार र प्रतिरक्षा गर्न प्रदर्शित अदम्य साहस र वीरताचाहिँ पक्कै हो । मलाई कहिलेकाहीँ के लाग्छ भने युद्धकै सन्दर्भले पहिलो पटक विश्व हेर्न निस्किएको भएर पनि हुन सक्छ हाम्रा सबै क्षेत्रमा युद्धको धङधङी वा आपसी शितयुद्ध आज पनि जारी छ । ‘तँलाई पर्खी’ टाइपको विचार कतै न कतै हरेक नेपालीको अन्तस्करणमा जीवितै छ ।

बेलायती उपनिवेशवाद लागि युद्ध गराउने उद्देश्यका साथ सन् १९१५ अप्रिल १५ मा नेपाली युवाहरुलाई संगठित गरेर गोर्खा रेजिमेन्टको स्थापना गरिएको थियो । त्यो भन्दा अगाडि नै नालापानी युद्धका कमाण्डर बलभद्र कुवँर रणजित सिंहले नेत्तृत्व गरेको मोर्चाबाट लडदै गर्दा अफगानस्तानको नर्थवेस्टमा मरेको इतिहास छ । तपाईंले ख्याल नगर्नुभएको कुरा के छ भने तत्कालीन नेपालको ५४ लाख जनसंख्या मध्ये ३.५ प्रतिशत नेपाली युवा (संख्यामा १,९९,८०० जना ) युद्धमा सामेल भएर घर वा नेपाल पैसा पठाइरहेका थिए । विश्व जब युद्धबाट वस्तु निमार्णमा लाग्यो हामी फेरि सेनाबाट कामदार बनेर बाहिरियौं ।

२०४२ साल कात्तिक १४ गते वुधबार नेपाल राजपत्रमा वैदेशिक रोजगार ऐन प्रकाशित भएपछि नेपालले वैदेशिक रोजगारलाई औपचारिक स्वरुप दिएको पाइन्छ । २०१९ साल असार १५ गते राजपत्रमा प्रकाशित भइ कार्यन्वयनमा आएको विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ मा वैदेशिक रोजगारबाट प्राप्त लाभलाई देशको अर्थतन्त्रमा औपचारिकरुपमा प्रवेश गराएको पाइन्छ।

८ औं योजना (वि.सं. २०४९–५४ ) मा गन्तव्य मुलुकको खोजी गरी वैदेशिक रोजगारीलाई अर्थतन्त्रमा बलियो योगदान गर्न सक्ने सम्भावित क्षेत्र भनि समेटिएकामा आज आएर देशको कुल गार्हस्थ्य उत्पादनको २६ प्रतिशतको अनुपातमा रेमिट्यान्स प्राप्त हुने गरेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । वैदेशिक रोजगार सम्बन्ध महत्त्वपूर्ण ऐनहरु बुधबार जारी गरिएकाले पनि हो यस सम्बद्ध गुनासाहरुको सुनुवाइ ढिलो हुन्छ ।

देशले एक आर्थिक वर्षमा उत्पादन वा आर्जन गरेका वस्तु तथा सेवाको कुल आर्थिक रुपान्तरण वा मौद्रिक मूल्यलाई नै कुल गार्हस्थ्य उत्पादन भनिन्छ । देश र देशका नागरिकका आर्थिक क्रियाकलापबाट प्राप्त उपलब्धि (कुल गार्हस्थ्य उत्पादन) मा एक चौथाइभन्दा बढी योगदान विप्रेषणको रहेको अवस्थामा रेमिटान्स कम्पनीहरुले खेलेको भूमिकालाई नजरअन्दाज गर्नु उपयुक्त छैन, होइन ।

पछिल्ला दश वर्ष निर्माण क्षेत्रका विभिन्न कम्पनी नजिक रहेर गरेको कार्य अनुभवका आधारमा के भन्न सक्छु भने हाम्रो देशमा औपचारिकभन्दा अनौपचारिक अर्थतन्त्र बलियो छ । राज्यले गर्नुपर्ने काम राम्ररी नगर्दा यसो भएको हो । केही कुरा सामाजिक संस्कारले पनि रोकेका छन् । जस्तो आज पनि हाम्रो घरतिर फलफूल बेच्ने भन्दा पनि बाँड्ने चिज हो भन्ने मान्यता छ । त्यसैभित्र पनि औपचारिक अर्थतन्त्र भित्र अर्को छाँया अर्थतन्त्र छ जुन सक्कली अर्थतन्त्र भन्दा ठूलो मात्रामा छ । पछिल्लो समय बजारमा चलेको ट्रेन्ड अचम्मको छ । खासमा नोक्सानमा रहेका कम्पनीहरुले ऋण प्राप्त गर्नका लागि नक्कली नाफा वासलातमा प्रविष्ट गर्छन् भने वास्तवमा नाफामा रहेका कम्पनीहरुले कर छल्नका लागि सक्कली तर नक्कली विलको सहायताबाट खर्च देखाएर नोक्सान देखाउँछन् ।

बजारले यस्तो अभ्यास गरिरहँदा सम्बन्धित निकायको मौनता, उत्तरदायित्व र जवाफदेहिताको नराम्रो नमुना हो । यस्तो चलिरहेको बेला हुण्डी वा शंकास्पद कालोधनको शंका गरी रेमिट्यान्सका आन्तरिक सेवा बन्द गरिनु निकै हाँस्यापद र वाहियात कारण देखाइएको हो जस्तो लाग्छ । यतिबेला स्वतन्त्र लेखापरीक्षकहरु वा लेखापरीक्षणको इजाजत प्राप्त आधिकारिक संघ संस्थाहरु सबैले आ-आफ्नो नैतिक आचरणको फुलअडिट गरुन् । ३ देखि ५ प्रतिशत मार्जिनमा प्राप्त गर्न सकिने नक्कली पिलहरुले बिगारेको अर्थतन्त्र काखीमा च्यापेर दुर दराजका वित्तीय साक्षरताबिहीन नागरिकले आफ्ना सन्ततीले हासिल गरेको आर्थिक उन्नतिलाई उपभोग गर्न रोक्नु किमार्थ राम्रो होइन ।

आन्तरिक अर्थतन्त्रलाई चलायमान गराउन वित्तीय प्रणालीका सबै क्षेत्रहरु खुल्ला गरिनुपर्छ ।

राष्ट्रिय पुँजी निमार्णमा प्रत्यक्ष योगदान पुर्‍याएको रेमिट्यान्ससँग सम्बन्धित १८ वटा रेमिट कम्पनी र १६ वटा बैंक तथा वित्तीय संस्थाका रेमिटहरु छन् । १८ कम्पनीका ११,४०० ऐजेन्टमार्फत् सेवा विस्तारित हुँदा १ एजेन्ट बराबर २ जनामात्र कर्मचारी गरे पनि २२,८०० ले प्रत्यक्ष रोजगारी र ठूलो सेवाग्राही संख्याले प्रत्यक्ष सेवा लाभ लिएको अवस्थामा रेमिटान्स सेवा रोकिनुले अप्ठ्यारो अवस्था सिर्जना गरेको छ । सेवा सुविधा थपिएको राम्रो हो, भएका कटिँदै जानु राम्रो होइन ।

गाँउघरतिर अझै पनि बैंकिङ कारोबारको सजिलो उपस्थिति र प्रभावकारिता कम छ । बैंकमा खाता खोल्न चाहिने विभिन्न झञ्झटिला कागजपत्र र लामो लाम तथा सिस्टम नचलेर हुने हैरानीले पनि बैंकहरुलाई अनिवार्य आवश्यकतामा बाहेक मानिसहरुले खोज्दैनन् । वित्तीय साक्षरता निकै कमजोर छ । प्राविधिक विनिमय प्रणालीहरु सुरक्षित छैनन् ।

विद्युतीय कारोबारमा हुने अंकजन्य त्रुटि तथा अन्य प्राविधिक त्रुटिहरु (पासवर्ड, पिन) हरुले पनि कारोबार सहजता नमान्ने पनि हुँदो रहेछ । यावत समस्या बाहेक छिटा, सजिला र भरपर्दा एवं मानिसको मन मष्तिकले स्विकारेका आन्तरिक रेमिट्यान्स सेवालाई, राज्यले देशको एक कुनाबाट अर्को कुनामा आफ्ना श्रीमान्-श्रीमती, छोराछोरी वा बुवाआमालाई पैसा पठाउने माध्यम रोकेर नागरिकको सम्पत्ति प्राप्ति तथा गोपनीयताको अधिकार हडपेको छ ।

अझै केही थप सर्त राखेर भए पनि व्यवसायको स्वरुपमा सञ्चालित विप्रेषण सेवालाइ पुनः सुचारु गर्दै राज्यले नागरिकहरुप्रति थप आर्थिक सक्रियताको लागि प्रोत्साहन गर्नुपर्छ । कालो धन सेतो बनाउनेहरु हुनेखानेहरु नै हुन् । राज्यको सेवा सुविधा र सत्ताको दुरुपयोग गरी आर्जन गर्ने धनलाई रोक्न राज्यले अझै प्रविधिमैत्री वातावरण निर्माण गर्दै लैजानुपर्छ ।

आज पनि देशभित्रका सबै तहका उच्च पदस्थले राष्ट्रिय परिचयपत्र बनाउन गरेको आनाकानीले उनीहरुका यस्ता कार्यमा संलग्नता स्पष्ट पार्छ । तपाईंहरु हुनेखानेहरुको इगो तथा आर्थिक स्वार्थसँग जोडिएर हुँदा खाने वर्गले सधैं सास्ती व्यहोर्न नपरोस् । कहिलेकाहीँ सुरक्षित रहन ढोका लगाउँदा अन्य सम्भावनाहरु बाहिरै छुट्न सक्छन् । गलत गतिविधिलाई अझै निरुत्साहित गरि आन्तरिक रेमिट तुरुन्तै सुचारु होस् ।