जेनजी आन्दोलनमा दीपक खड्काको घरमा आगजनी र लुटपाट: तीन जनाविरुद्ध साढे ७ करोडको मुद्दा

0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको बूढानीलकण्ठस्थित घरमा भदौ २४ को जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनी प्रकरणमा तीन जनाविरुद्ध मुद्दा दायर भएको छ।

प्रहरी वृत्त महाराजगञ्जले सुर्खेतका ४४ वर्षीय रणबहादुर सिंह, बूढानीलकण्ठका ३१ वर्षीय सुसम श्रेयठ र काभ्रेकी ३९ वर्षीय रेखा (सानी) सुनारलाई पक्राउ गरी अनुसन्धान गरेको थियो।

प्रहरीको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले उनीहरूविरुद्ध आपराधिक उपद्रव र डाँकासम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । न्यायाधीश विष्णुप्रसाद अवस्थिको इजलासले रणबहादुर र सुसमलाई पुर्पक्षका लागि कारागार चलान र रेखालाई २५ हजार धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

उनीहरूविरुद्ध साढे ७ करोड रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ । तत्कालीन मन्त्री दीपक खड्काका भाइ जीवन खड्काले दर्ता गरेको जाहेरीमा घर, निजी तथा सरकारी गाडीहरू, करिब ६ तोला सुनका विभिन्न गहना, डायमण्ड र मोतीका सेट, मुगा गहनालगायतका सामग्री, ५ लाख नगद, ७ सय अमेरिकी डलर, ल्यापटप, कम्प्युटर र अन्य बहुमूल्य सामान चोरी र डाँका परेको उल्लेख छ।