
एजेन्सी । युरोपले अहिले विश्वको वित्तीय प्रणालीमा विस्फोट गरिदिने किसिमको धम्की दिएको छ ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफूहरूलाई सहभागी नगराइकने रुससँग युक्रेनको विषयमा सम्झौता गरेमा अमेरिकाको २३ खर्ब डलर बराबरको ट्रेजरी (सरकारी ऋणपत्र) बेचिदिने विषयमा युरोपेली अधिकारीहरूले छलफल गरिरहेको बताइएको छ ।
यो कूटनीति नभई पारस्परिक वित्तीय विनाशजस्तै भएको विश्लेषकहरू बताउँछन् ।
युरोपेली संघ र बेलायतसँग संयुक्त रूपमा चीनभन्दा धेरै अमेरिकी ऋणपत्र छ । त्यसले १० वर्षे ब्याजदर २०० को बेसिसमा एकै रातमा उचाल्न सक्छ । त्यस अवस्थामा अमेरिकाको घरजग्गा कारोबार ठप्प हुन्छ । फेडरल सरकारको ब्याज भुक्तानीलाई वर्षमा १५ खर्ब डलरभन्दा माथि पुर्याउन सक्छ ।
तर, एउटा कुरा कसैले पनि भनिरहेको छैन । युरोपले यो हतियार चलायो भने पहिले आफैं घाइते हुन्छ ।
युरोपेली बैंकहरूसँग संरचनागत रूपमा डलरको कमी छ । उनीहरू डलर बजारमा पैसा पाउन अमेरिकी ऋणपत्रलाई धितो राख्छन् । उनीहरूले यो धितो बेचिदिएमा ७२ घण्टाभित्र युरोपको बैंकिङ प्रणाली तरलता संकटमा पर्छ ।
युरोपेली केन्द्रीय बैंकले डलर छाप्न सक्दैन । त्यसका लागि फेडरल रिजर्भका स्वाप लाइन (आपतकालीन डलर आपूर्ति) चाहिन्छ । वित्तीय युद्धको परिस्थितिमा वाशिङटनको एउटा फोनले त्यो सहायता रोकिदिन सक्छ । यो युरोपका लागि फन्दा हो ।
ट्रम्पको २८ बुँदे युक्रेन शान्ति योजनाले रुसलाई युक्रेनको भूभाग सुम्पिन्छ र युरोपृली संघलाई किनारीकृत गरिदिन्छ । युरोपसँग अमेरिकामा राखेको २३ खर्ब डलर मात्र ठूलो दबाबको साधन हो । तर, त्यसलाई प्रयोग गर्दा प्रयोगकर्ताकै विनाश हुन्छ ।
अहिलेको वास्तविक युद्धभूमि युक्रेन भन्दा पनि युरोपले नियन्त्रणमा राखेको रुसको २१० अर्ब युरो बराबरको सम्पत्ति हो ।
वाशिङटन त्यो रकम सम्झौताका लागि सुरक्षित राख्न चाहन्छ । युरोपले त्यसलाई दबाबका रूपमा प्रयोग गर्न चाहेको छ ।
सन् २०२६ को पहिलो त्रैमासमा ट्रेजरी इन्टरनेशनल क्यापिटलको तथ्यांक हेरौं । एउटा त्रैमासमा ५ प्रतिशत भन्दा बढी विदेशी होल्डिङ बदलिएको छ । यो धम्की अब बोलीमा मात्र सीमित नभई वास्तविकतातिर बढिरहेको संकेत हो ।
युरोपले दशकौंदेखि डलरको कमाइ अमेरिकी ऋणपत्र खरिदमा लगाउने अनि बदलामा अमेरिकी सुरक्षा पाउने ८० वर्षे सम्झौता अहिले वास्तविक समयमा फेरिँदैछ ।
पुरानो संसार ठूलो आवाजले भन्दा पनि बोन्डको बिक्रीबाट समाप्त हुँदैछ ।







प्रतिक्रिया