
काठमाडौं । भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा सुनौलीबाट दिल्लीतर्फ जाँदै गरेको यात्रुवाहक बसमा आगलागी हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।
उक्त बसकार अधिकांश यात्रु नेपाली रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । समाचारमा जनाइए अनुसार ट्रकले बसलाई ठक्कर दिएपछि आगलागी भएको हो ।
ठक्करपछि बस करिब १०० मिटर घिस्रिँदै हाइटेन्सन लाइनको खम्बामा ठोक्किएको र खम्बा बसमाथि खसेपछि आगलागी झनै व्यापक बनेको एबीपी न्यूजले जनाएको छ
यूपी–२२ एटी ०२४५ नम्बरको उक्त बसमा ४५ जना यात्रु सवार थिए, जसमा अधिकांश यात्रु नेपाली रहेको बताइएको छ ।
प्रहरीका अनुसार घटनामा २४ जना यात्री घाइते भएका छन् उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई लखनउ रिफर गरिएको छ ।
जिल्लाअधिकारी विपिन जैनले घाइतेको उपचार भइरहेको र सामान्य घाइतेलाई दिल्ली र नेपाल पठाइएको बताए । उनले घाइतेका परिवारसँग सम्पर्क प्रयास भइरहेको जनाएको समाचारमा उल्लेख गरिएको छ ।







प्रतिक्रिया