
काठमाडौं । दोस्रो संस्करणको घर निर्माण फेस्ट आयोजना हुने भएको छ । घर निर्माण फाउन्डेसनले ‘घर निर्माण फेस्ट २०८२’ पुस १२ देखि १५ गतेसम्म भृकुटीमण्डपमा फेस्ट आयोजना गर्न लागेको हो ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत निर्माण सम्बन्धी नेपालको सबैभन्दा ठूलो मेलाका रूपमा स्थापना हुँदै आएको फेस्टबारे कार्यक्रमबारे जानकारी दिइएको हो ।
नेपालमा निर्माण तथा व्यावसायिक गतिविधि विस्तार भइरहेको भए पनि धेरै ब्रान्डहरूले उत्पादनको प्रभावकारी प्रस्तुती, ग्राहकसँग सम्बन्ध विस्तार र बजारमा प्रतिस्पर्धी ब्रान्डिङ गर्न चुनौती भोगिरहेको आयोजकले जनाएको छ ।
प्रदर्शनीमा प्रत्यक्ष अन्तरक्रिया, विशेषज्ञ मार्गदर्शन र ब्रान्डिङ परामर्शमार्फत व्यवसायीले लक्षित ग्राहकसम्म आफूलाई प्रभावकारी रूपमा पुर्याउन सक्ने अपेक्षा राखिएको छ ।
चार दिनसम्म चल्ने फेस्टबाट झन्डै २ सय करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान आयोजकले गरेको छ ।
यस्तै, निर्माणसम्बन्धी नयाँ प्रविधि, सामग्री र डिजाइनबारे ४० हजारभन्दा धेरै दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजकले जनाएको छ । यो फेस्ट साधारण मेला मात्र नभई नवप्रवर्तन, गुणस्तरीय निर्माण, ब्रान्डिङ र व्यवसायिक वृद्धिको साझा मञ्च रहेको पत्रकार सम्म्लनमा बताइएको छ ।
पहिलो आकर्षणको रूपमा विश्वकै सबैभन्दा ठूलो आकारको इट्टा, फाउन्डेसनले तयार पारेको विशाल इट्टालाई ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा दर्ता गराउने तयारी भएको जनाएको छ ।
दोस्रो आकर्षणको रूपमा ‘उल्टो घर’ रहेको छ। घरको सम्पूर्ण संरचना र डिजाइन उल्टो रूपमा प्रदर्शन गरिनेछ, जसले अवलोकनकर्तालाई नयाँ दृश्य अनुभव दिने आयोजकले जनाएको छ ।
तेस्रो आकर्षणको रूपमा ‘डोम हाउस’ अवधारणा रहेको छ । नेपालमा धेरै प्रयोगमा नआएको यो प्रविधिबाट एक दिनमै घर, होटल वा रिसोर्ट पनि तयार गर्न सकिने आयोजकले जनाएको छ ।
फेस्टमा अवलोकन गर्न आउनेहरूका लागि निर्माणसम्बन्धी जिज्ञासामा विशेषज्ञहरूसँग प्रत्यक्ष र निःशुल्क परामर्श पाउने व्यवस्था गरिएको छ । इन्जिनियर, आर्किटेक्ट, निर्माण सामग्री विशेषज्ञ तथा उद्योगमा अनुभवी व्यक्तिहरूसँग डिजाइन, लागत, गुणस्तर र आधुनिक प्रविधिबारे जानकारी लिन सकिनेछ ।







प्रतिक्रिया