
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) २०२५ को आधिकारिक प्रत्यक्ष प्रसारण साझेदार डिस होम (गो) ले प्रत्यक्ष प्रसारणमा ऐतिहासिक उपलब्धि हात पारेको दाबी गरेको छ । जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाबीचको उद्घाटन खेल दुई लाखभन्दा बढी दर्शकले प्रत्यक्ष हेरेको कम्पनीले जनाएको छ ।
प्रत्यक्ष हेर्ने दर्शक संख्यालाई कन्क्युरेन्ट भ्युअरशिप भनिन्छ । एकैपल्ट २ लाखले हेर्नु जसले डिस होम (गो) को प्रविधिक क्षमता र तयारीलाई पुष्टि गरेको कम्पनीले जनाएको छ ।
तर पहिलो दिन केही प्रयोगकर्ताले प्रत्यक्ष प्रसारण हेर्न कठिनाइ भोग्नुपरेको थियो । यो समस्या केवल डिस होम (गो) एपमा मात्र नभई, एनपिएल सिजन पास सदस्यता खरिद प्रक्रियामा देखिएको व्यवस्थागत जटिलताका कारण उत्पन्न भएको बताइएको छ । विशेषगरी आईओएस प्रयोगकर्ताले सदस्यता खरिदमा समस्या अनुभव गरे पनि एन्ड्रोइड प्रयोगकर्ताले भने सहजै सेवा उपयोग गर्न सकेका थिए ।
डिस होम (गो) का इञ्जिनियर तथा अन्तर्राष्ट्रिय प्राविधिक साझेदार कम्पनीका विशेषज्ञहरूले लगातार काम गरेसँगै पहिलो दिनकै धेरै समस्या समाधान गरिएको थियो । दोस्रो दिनदेखि आईओएस प्रयोगकर्ताले पनि सहज रूपमा सदस्यता लिएर प्रत्यक्ष खेल हेर्न सक्ने अवस्था बनेको कम्पनीले जनाएको छ । दोस्रो र तेस्रो दिनका खेलमा लगभग सबै प्राविधिक चुनौतीहरू समाधान भइसकेका छन् ।
कम्पनीका अनुसार आधिकारिक च्यानलमार्फत प्राप्त हजारौं एक्टिभेसन रिक्वेस्ट एकैपटक प्रक्रिया गरिएको छ । दोहोरो भुक्तानी भएका प्रयोगकर्ताको रकम फिर्ता प्रक्रिया पनि सुरु भइसकेको जानकारी दिइएको छ । थप सहजताका लागि खल्ती तथा इसेवा मार्फत नेपालमै प्रयोग गर्न मिल्ने एनपीएल सिजन पास भौचर खरिद गर्न सकिने व्यवस्था पनि मिलाइएको छ । एक व्यक्तिले आवश्यक अनुसार धेरै भौचर खरिद गर्न सक्ने हुँदा परिवार तथा साथीभाइसँग साझा गरी मोबाइलबाट सजिलै खेल हेर्न सकिनेछ ।
डिस होम (गो) ले पहिलोपटक नेपाली कम्पनीको रूपमा मोबाइल एपमार्फत पात्रोपयोगकर्तासहित विश्वभर प्रत्यक्ष खेल प्रसारण गर्दै नयाँ इतिहास रचेको बताइएको छ । यो एपमार्फत भारतबाहेक संसारभरबाट एपीएल हेर्न सकिन्छ ।
पहिलो दिन सबै प्रयोगकर्तालाई सहज अनुभव गराउन कठिनाइ हुँदा करिब २ लाख दर्शकलाई निःशुल्क हेर्ने व्यवस्था गरिएको थियो । दोस्रो र तेस्रो दिनदेखि सबैले व्यवस्थित रूपमा सदस्यता लिएर प्रत्यक्ष प्रसारण हेर्न सक्ने अवस्था बनेको हो ।







प्रतिक्रिया