विदेशी विद्यार्थीहरूले शंकास्पद गतिविधि गरेमा सूचना दिनू: अध्यागमन

91
Shares

काठमाडौं । विदेशी विद्यार्थीहरू पठनपाठन बाहेक अन्य शंकास्पद गतिविधिमा संलग्न भएको थाहा पाएमा सूचना दिन अध्यागमन विभागले अनुरोध गरेको छ।

बुधबार विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले एक विज्ञप्ति जारी गरी विदेशी विद्यार्थीहरू गैरकानुनी काममा समेत संलग्न देखिएको भन्दै यस्ता गतिविधिमा संलग्नबारे सूचना दिन अनुरोध गरेका हुन्।

‘भिसा तथा आम्दानी प्रयोजनका लागि मात्र आफ्नो शैक्षिक संस्थामा विदेशी विद्यार्थी भर्ना नगर्न, आफ्नो संस्थामा अध्ययनरत विद्यार्थीहरू नियमित रूपमा पठनपाठनमा संलग्न भए/नभएको यकिन गरी मात्र भिसा सिफारिस गर्न र पठनपाठन भन्दा बाहेक अन्य शंकास्पद गतिविधिमा संलग्न भएको जानकारीमा आएमा तत्काल अध्यागमन विभाग वा स्थानीय प्रशासनलाई सूचना दिन सबै शैक्षिक संस्थाहरूलाई अनुरोध गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।

विदेशी नागरिकहरू लामो अवधिसम्म नेपाल बस्नका लागि अध्ययन भिसा लिने र गैरकानुनी काममा संलग्नहरूका लागि पनि भिसा सिफारिस हुने गरेको विभागले जनाएको छ।

‘अध्ययन भिसा प्राप्त गरेका केही विदेशी नागरिकहरुले नियमित रुपमा कक्षामा सहभागी नभएको, अध्ययन भिसाको अवधि थप गर्न नक्कली कागजात पेस गरेको, अध्ययनको कोर्ष पूरा भएपछि शैक्षिक प्रमाणपत्र समेत पेस गर्न नसकेको कतिपय विदेशी विद्यार्थीहरू गैरकानूनी कार्यमा संलग्न रहेको देखिँदा समेत सम्बन्धित शैक्षिक संस्थाहरूले विभाग तथा स्थानीय प्रशासनलाई सूचना दिने गरेको पनि पाइएन,’ विभागले सूचनामा बताएको छ।