स्रोत नखुलेको नगद सहित ५ जना पक्राउ

9.8k
Shares

काठमाडौं । सर्लाहीबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ परेका छन् । मलंगवा नगरपालिका ८ बाट स्रोत नखुलेको नगद १ लाख ९८ हजार रूपैयाँसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भारत सीतामढी सोनवर्षा(४ बस्ने ४६ वर्षीय दिलिप ठाकुर र १९ वर्षीय सोनु शर्मा रहेका छन् । प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बा ८९ प ६२५२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो ।

त्यसैगरी, सिरहा नगरपालिका १७ बाट स्रोत नखुलेको भारतीय १ लाख ३९ हजार ३ सय रूपैयाँ सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत मधुवनी जयनगर बस्ने २५ वर्षीय अरजित कुमार यादव, ४० वर्षीय संजय कुमार साह र ३५ वर्षीय मो. गुलसाह रहेका छन् ।

इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको अन टेस्ट लेखिएको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।