महाकुलुङमा अम्रिसो खेती गर्ने कृषकलाई आधुनिक कृषि मेसिन वितरण


काठमाडौं । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ मा पहिरो रोक्न सुरु गरिएको अम्रिसो खेती अहिले स्थानीय समुदायको आर्थिक तथा कृषि रूपान्तरणको आधार बनेको छ । बायो इन्जिनियरि सोसियल इन्टरप्राइजेज फर डिजास्टर रिस्क रिडक्सन एन्ड लाइभ्लीहुड अपलिफ्टमेन्ट (फेज ३) परियोजनाअन्तर्गत अम्रिसो रोपाइँमा संलग्न कुलुङ समुदायका १८३ घरधुरीले यस वर्ष खाद्यान्न होइन, आधुनिक कृषि मेसिनरी हात पारेका छन् । बिघ्नहर्ता नेपालले अम्रिसो रोपेको प्रतिफलस्वरूप १३ थरीका मेसिन (थ्रेसरसहितका ट्र्याक्टर, मिनी टिलर, कम्बाइन मेसिनलगायत) समुदायलाई हस्तान्तरण गरेको हो ।

समुदायमै गठन गरिएको ११ सदस्यीय ‘प्रगतिशील’ नामक समितिलाई ती सबै यन्त्र औपचारिक रूपमा बुझाइएको छ । अब समितिले परियोजनाका लाभग्राही तथा गाउँपालिकाका अन्य किसानलाई पनि न्यून शुल्कमा यी मेसिन प्रयोग गराउनेछ, साथै भाडाबाट उठ्ने रकमलाई सामुदायिक विकासमा खर्च गर्ने योजना बनाएको छ । मेसिन सञ्चालन र पहुँचलाई सहज बनाउन तीन स्थानमा शाखा स्थापना गरिएको छ, जसले गाउँभरका किसानलाई कुशल र आधुनिक कृषि कार्यमा सहज बनाउनेछ ।

बिघ्नहर्ता नेपालकी सह–सहसंस्थापक रजिया बानुका अनुसार राहत वा खाद्यान्न वितरणले समुदायलाई केही समय मात्र टिकाउने हो । तर मेसिनजस्ता स्थायी सम्पत्ति दिएपछि परियोजना सकिएसँगै पनि समुदाय स्वयं आत्मनिर्भर बन्न सक्छ । उनी भन्छिन्, ‘यो एक्सेस टु फाइनान्स मोडल हो, जसले समुदायलाई दीर्घकालीन उत्पादन क्षमता र आयआर्जनमा रूपान्तरण गर्छ ।’

यो परियोजना पछिल्ला ६ वर्षमा तीन फरक भूगोलमा पहुँच विस्तार गरिसकेको छ । मकवानपुरको चुरे–महाभारत क्षेत्रमा चेपाङ समुदाय, सोलुखुम्बुका उच्च पहाडका कुलुङ समुदाय र सिरहा–कालिकाका मुसहर समुदायसम्म यो मोडल कार्यान्वयन भइसकेको छ ।

अहिलेसम्म २ हजार ६ सय घरधुरीलाई समेटेर २० लाखभन्दा बढी अम्रिसो बिरुवा रोपिएको छ, जसले खेती भएको क्षेत्रमा पहिरो ९० प्रतिशतसम्म घटाएको तथ्यांक परियोजनाले सार्वजनिक गरेको छ । मकवानपुरमा आरम्भिक चरणमा अत्यन्तै परनिर्भर रहेको चेपाङ समुदाय अहिले अम्रिसोको डाँठ र कुच्चो बेचेर वार्षिक ५० हजारदेखि १ लाख रुपैयाँसम्म कमाउन सक्षम भएको उदाहरण परियोजनाको ठोस उपलब्धि मानिन्छ ।

परियोजनाले महिलाको सशक्तीकरणलाई पनि समान महत्त्व दिएको छ । चेपाङ समुदायका १२ आमालाई कुच्चो उत्पादन र उद्यमशीलता तालिम दिएर प्रमाणित प्रशिक्षक बनाइएको छ, जसले अब आफ्नै गाउँ–टोलमा नयाँ लाभग्राहीलाई तालिम दिन सक्छन् ।

यसले सीप, उत्पादन र बजार पहुँचलाई दीगो बनाएको छ । स्थानीय उत्पादनलाई बजारसम्म जोड्न संस्थाको फर–प्रॉफिट कम्पनी ‘अग्र इन्डस्ट्रिज’ मार्फत कुच्चो खरिद र वितरण व्यवस्था पनि सञ्चालनमा छ ।

रजिया बानु भन्छिन्, ‘अब नेपालमा राहत बाँडेर समस्याको अस्थायी समाधान होइन, सीप, उपकरण र सम्पत्ति हस्तान्तरणमार्फत समुदायलाई स्थायी रूपमा आत्मनिर्भर बनाउने परियोजना आवश्यक छ ।’