उद्योग मन्त्रालयले कार्यान्वयनमा ल्याउँदै एकीकृत कार्यालय व्यवस्थापन प्रणाली


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरकारी कार्यालयमार्फत हुने प्रशासनिक प्रक्रियालाई विद्युतीय प्रणालीमार्फत कागजरहित सम्पादन गर्न एकीकृत कार्यालय व्यवस्थापन प्रणाली(जीआईओएमएस) कार्यान्वयनमा ल्याएको छ ।

मन्त्रालयले आगामी सोमबारदेखि यो प्रणाली कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार यो प्रणालीमार्फत मन्त्रालयले आवेदन दर्ता, चलानी र टिप्पणीसम्बन्धी प्रक्रिया सम्पादन हुनेछ । यो प्रणाली संघीय मन्त्रालयसहित यो मन्त्रालयसँग सम्बन्धित जिल्ला कार्यालयमा पनि कार्यान्वनयमा ल्याउन लागिएको छ ।

जीआईओएमएसमार्फत प्राप्त भएको आवेदन, पत्र, कागजात स्वचालित रुपमा दर्ता भएर कार्यालय प्रमुखको खातामा पुग्ने व्यवस्था गरिएकाले मूल दर्ता र चलानी गर्ने झण्झटिलो प्रक्रिया समेत समाप्त हुने मन्त्रालयले जनाएको छ । यसले गर्दा सेवाग्राहीको समयको बचत हुनुका साथै अनावश्यक झण्झटिलो प्रक्रियासमेत अन्त्य हुने मन्त्रालयले विश्वास लिएको छ ।