
काठमाडौं । नेपालमा नयाँ राजनीतिक दल प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ। आइतबार सम्पन्न पार्टी एकता तथा घोषणा सभामा पार्टीका नेताहरूले नयाँ राजनीतिक दिशामा आफ्नो सक्रियता देखाएका छन्।
पार्टीका नेता जनार्दन शर्माले तत्कालीन पार्टीभित्रका ‘मठाधीशहरूलाई धूपबत्ती गर्न छाडेर’ लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणमा सक्रिय भएका बताए । उनले सामन्तवादको राजनीति भत्काएर नयाँ प्रक्रियामा सहभागी हुन सुरु गरिएको बताएका छन् । शर्मा, डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र राष्ट्रिय स्वतन्त्र पार्टी छाडेका सन्तोष परियारबीचको एकतापछि पार्टी गठन गरिएको हो । यस अघि गत कात्तिक २८ गते उनीहरूबीच एकता सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।
नव घोषित पार्टीका नेता सुदन किराँतीले यदुवंश सेना नरोजेर कृष्ण रोजेको बताए । ‘हामीले यदुवंश सेना रोजेनौँ, हामीले कृष्ण रोज्यौँ। यसमा बाबुराम भट्टराई, जनार्दन शर्मा, राम कार्की र ओजस्वी भट्टराईजस्ता नेताहरूलाई समावेश गरेका छौँ। हामी यस न्यायपूर्ण लडाइँमा हार्ने छैनौँ, जित्ने छौँ।’ उनले कम्युनिस्ट पार्टी छाडेकोबारे भने, ‘हामीले खोल छोडेर गुदी बोकेर आएका छौँ। अब त्यस्तो असमानता गर्ने कम्युनिस्ट पार्टी चल्दैन,’ बताएका छन्।
त्यसैगरी, रास्वपा छाडेका नेता सन्तोष परियारले युवापुस्ता, श्रमिक र बुद्धिजीवीहरूलाई परिवर्तनको यात्रामा एकताबद्ध भएर अघि बढ्न आह्वान गरे । उनले वर्तमान पुस्ताले जिम्मेवारीबाट पन्छिन नहुने बताए ।
‘यदि हामीले आज पनि समस्या समाधानतर्फ कदम चाल्न सकेनौँ भने इतिहासले हामीलाई माफ गर्ने छैन । इतिहासले हामीलाई बैमानी पुस्ता भन्छ।’ परियारले साझा लक्ष्यका लागि एकता, इमानदारी र संघर्ष आवश्यक रहेकोमा जोड दिए ।








प्रतिक्रिया