दुबई एयरशोमा तेजस लडाकु विमान दुर्घटना हुँदा हतियार बेच्ने भारतको आकांक्षामा धक्का


एजेन्सी । गत साता दुबई एयर शोमा भएको भारतको तेजस लडाकु विमानको दुर्भाग्यपूर्ण दुर्घटनाले विश्वका विभिन्न मुलुकमा हतियार निर्यात बढाउने नयाँ दिल्लीको प्रयासमा ठूलो धक्का लागेको छ ।

स्वदेशमै बनेको प्रविधिको उदाहरणका रूपमा तेजसलाई त्यहाँ प्रदर्शन गरिँदै थियो । उक्त दुर्घटनामा विमानचालकको मृत्यु भएको थियो ।

धेरै ढिलाइ र प्रविधिगत समस्याबाट गुज्रिँदै अन्ततः सफल परियोजना बनेको तेजसका १८० उन्नत भर्सन भारतीय वायुसेनाले अर्डर गरिसकेको छ । यही विमानलाई अन्तर्राष्ट्रिय खरिदकर्ताहरूलाई देखाइँदै गर्दा दुर्घटना भएको हो ।

भारतीय वायुसेनाले गठन गरेको छानबिन टोलीले दुर्घटनाको कारण खोज्नेछ । तर, हजारौं दर्शकको अगाडि दुर्घटना भएकाले यसको छविमा असर परेको छ ।

भारतले इजिप्ट, आर्मेनिया र दक्षिण–पूर्वी एसियाका केही मुलुकलाई आफ्ना हतियार बेच्न खोजिरहेको छ । अहिलेसम्म तेजसको राम्रो सुरक्षा रेकर्ड थियो । यसअघि इञ्जिन फेल भएर एउटा विमान मात्र खसेको थियो ।

कम मूल्य, प्रविधि साझा गर्ने भारतको प्रस्ताव, विभिन्न प्रकारका हतियार र सेन्सरहरू जडान गर्न सकिने क्षमता र आगामी वर्षहरूमा कम्तीमा २२० तेजसलाई वायुसेनामा प्रवेश गराउने योजना भएकाले साना राष्ट्रहरूले आफ्नो वायु सैन्यशक्ति बढाउन यसलाई राम्रै विकल्पको रूपमा हेर्न सक्थे ।

सन् २०१४ पछि भारतले ठूलो परिवर्तन गर्दै आफूलाई हतियार निर्यातकर्ता बनाउने लक्ष्य राखेको छ । सरकारले हतियार निर्माताहरूलाई अन्तर्राष्ट्रिय बजार खोज्न प्रोत्साहित गरेको छ । भारतले निर्यात गर्न खोजिरहेका प्रणालीहरूमा रकेट, मिसाइल, गोलीबारुद, हवाई रक्षा प्रणाली, बख्तरबन्द गाडी र ड्रोन पर्छन् ।

युरोप र पश्चिम एसियामा चलिरहेका संघर्षका कारण विस्फोटक र गोलीबारुदको माग बढेर भारतीय रक्षा निर्यात रेकर्ड स्तरमा पुगेको छ । सन् २०२४–२५ आर्थिक वर्षमा निर्यात २३ हजार ६ सय २२ करोड भारु नाघेको छ ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले सन् २०२९ सम्ममा वार्षिक ५० हजार करोड भारुको रक्षा निर्यात गर्ने लक्ष्य पनि राखेका छन् । अमेरिका, आर्मेनिया र फ्रान्स भारतका प्रमुख ग्राहक हुन् भने फिलिपिन्स, भियतनाम र इन्डोनेसियाजस्ता एसियाली बजारहरू नयाँ ग्राहकका रूपमा उभिँदैछन् ।

Skip This