आक्रमण प्रयास निन्दनीय, बिरोधको पनि मर्यादा हुन्छ: महेश बस्नेत

2.5k
Shares

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले विराटनगर विमानस्थलमा आफूमाथि रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयासलाई गम्भीर र निन्दनीय भएको बताएका छन् ।

लोकतन्त्रमा विरोधको पनि मर्यादा हुने भन्दै बस्नेतले शान्तिपूर्ण ढंगले अभिव्यक्ति दिने अधिकार सबै नागरिकको भए पनि आक्रमणजस्ता हर्कत कहिल्यै स्वीकार्य नहुने बताएका हुन् । बस्नेतले प्रहरीको तत्परताप्रति धन्यवाद दिएका छन् ।

‘विराटनगर विमानस्थलमा हामीमाथि गरिएको रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय छ। लोकतन्त्रमा विरोधको पनि मर्यादा हुन्छ । शान्तिपूर्ण सभा–जुलुस र देशभर स्वतन्त्र रूपमा आवत–जावत गर्नु सबै नागरिकको अधिकार हो, तर आक्रमणजस्ता हर्कत कहिल्यै स्वीकार्य हुँदैन,’ उनले भनेका छन्, ‘प्रहरीको तत्परताप्रति धन्यवाद । हिंसा होइन—विचार, संवाद र लोकतान्त्रिक अभ्यासमार्फतै देश अगाडि बढ्छ । अराजकता र आपराधिक गतिविधि कहिल्यै स्वीकार्य हुँदैन । बाधाका बीच अहिले युवा संघ नेपालको कोशी प्रदेशको जागरण सभा भव्यता र उत्साहका साथ सुरु हुँदैछ । ऊर्जा, सहभागिता र सकारात्मक सन्देशसहितको यो अभियान देशभर नयाँ प्रेरणा फैलाउनेछ।’

पूर्वको भ्रमणमा रहेका बस्नेतमाथि आइतबार विमानस्थल क्षेत्रबाट बाहिर निस्कँदै गर्दा आक्रमण प्रयास भएको थियो । उनी सवार गाडीमा एक युवकले कुद्दै आएर रातो रंग फालेका थिए । जेनजी समूहका नेता भएको दाबी गर्ने अर्पित कुँवरसहितको समूहले बस्नेतको गाडीमा मसी छ्यापेको भिडियोसमेत सार्वजनिक भएको छ

बस्नेत विमानस्थलबाट इटहरीतर्फ जाँदै थिए ।

यसअघि पनि केही दिनअघि नेता शंकर पोखरेलसँगै सिमरा आउन लागेको भन्दै जेनजी समूहका युवाले विमानस्थल परिसरमा प्रदर्शन र तोडफोड गर्दै दुई दिन विरोध गरेका थिए ।

Skip This