पूर्वमन्त्री किसान श्रेष्ठको घर पुगेर सुधनको धम्की: घरमात्र जलाउने होइन मान्छेलाई जे पनि हुन सक्छ


काठमाडौं । आफूलाई जेनजी आन्दोलनको अगुवा दाबी गर्ने सुधन गुरुङ बाराको औराहास्थित पूर्वमन्त्री तथा बारा–४ का निवर्तमान सांसद किसान श्रेष्ठको निजी निवासमा पुगेर धम्की दिएको पाइएको छ ।

शनिबार स्थानीय युवालाई साथ लिएर गुरुङ पूर्वमन्त्री श्रेष्ठको घर पुगेका थिए । घरमा श्रेष्ठ नरहेको अवस्थामा गुरुङले त्यहाँ उपस्थित कामदारहरूलाई स्थानीय जेनजी युवाहरूलाई धम्की दिने काम बन्द गर्न अन्यथा घरमात्र नभइ उनलाई नै जलाउने चेतावनीसमेत दिएको दाबी गरिएको छ ।

गुरुङले भने युवाहरूलाई श्रेष्ठले धम्की दिएकाले आफू त्यसको नगर्न भन्न आएको दाबी गरे ।

‘जेनजीहरूलाई थर्काउने, मानसिक यातना दिने काम भएको भनेर खबर आएपछि त्यस्तो काम नगर्न भनेर म्यासेन्जरमार्फत सन्देश दिन गएको हो’ उनले भनेका छन् ।

गुरुङसँगै रहेका एक युवाले आफू प्रहरीकै सामुन्ने कुटिएको दाबी गर्दै सुरक्षाको अनुभूति नभएको गुनासो गरे। ‘पुलिस प्रशासनकै अगाडि चार–पाँच जनाले पिटे, तर प्रहरीले रोक्दैन,’ उनले भने ।

‘लुटपाट शैलीमा घर पसेर धम्की’

पूर्वमन्त्री किसान श्रेष्ठले भने गुरुङको टोलीले ‘घरेलु कामदार र कर्मचारीलाई धम्क्याउँदै घरमा आतंक मच्चाएको’ आरोप लगाएका छन् । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नेता श्रेष्ठको घरमा आगजनी गरिएको थियो र अहिले उनको घर पुनर्निर्माण भइरहेको छ ।

पार्टी कामको सिलसिलामा काठमाडौँ रहेको समयमा गुरुङ घरमा पसेको भन्दै उनले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका छन् ।

‘यहि मंसिर ३ र ४ गते सिमरामा घटेको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछु र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु र घाइते हरुको उपचारको उचित व्यवस्था गर्नको लागि सरकारसँग माग गर्दछु,’ श्रेष्ठले भनेका छन्, ‘म पार्टी कामको सिलसिलामा काठमाडौं गएको मौका छोपी ६ गते जितपुर सिमरा -४ औराहामा रहेको मेरो घरमा करिब विहान ११ बजे जेनजी को कथित नेता हुँ भन्दै लुटपाट र गुण्डागर्दी शैलीमा सुदन गुरुङ भन्ने व्यक्ति प्रवेश गरी २४ गते जलाईएका घर पुनर्निर्माण गर्ने मेरा कर्मचारी कामदारलाई धम्क्याउने र किसान श्रेष्ठको घर फेरी जलाउँछु भन्दै तेरो नेतालाई जे पनि हुन सक्छ भनेर धम्की दिएको घटनाको घोरभर्त्सना गर्दछु । यसरी जेनजीका नाममा भैरहेको आतंक रोकी शान्ति सुरक्षाको प्रत्याभुति गराइदिन नेपाल सरकार र स्थानीय सरकारलाई अनुरोधसमेत गर्दछु ।’

उनले जेनजीको नाममा भइरहेको आतंक रोक्न र शान्ति सुरक्षाको प्रत्याभूति दिन स्थानीय प्रशासन तथा नेपाल सरकारसँग माग गरेका छन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा श्रेष्ठको घरमा तोडफोड र आगजनी भएको थियो। अहिले पुनर्निर्माण भइरहेका बेला इन्जिनियर, कामदारलाई सुधनले धम्की दिएको श्रेष्ठको आरोप छ । छन् ।

सिमराका जेनजीहरूलाई कसैले हातपात गर्‍यो भने घरमा मात्रै होइन, मान्छेलाई आगो लगाउँछौं भन्दै सुधनले धम्की दिएका थिए ।

श्रेष्ठको घरमा सहयोगीका रूपमा कार्यरत महिलाले पनि अपरिचित समूह आएर ‘किसान श्रेष्ठको घरमात्र होइन मान्छेलाई पनि जलाइदिन्छौं’ भन्ने किसिमका धम्की दिएको बताएकी थिइन् ।