नेपालकै ठूलो पाँचतारे होटल रोयल टुलिप पूर्णक्षमतामा सञ्चालनमा आउने (भिडियोसहित)

8.2k
Shares

काठमाडौं । व्यवसायी राजेन्द्र शाक्यले गुण ग्रुपले होटलमा सेवा दिन थालेसँगै नेपालकै ठूलो पाँचतारे होटल बनाएर धमाधम पर्यटकलाई सेवा दिइरहेका छन् । उनले ललितपुरको ग्वार्कोमा रोयल टुलिप ब्राण्डको पाँचतारे होटल सञ्चालनमा ल्याएका छन् भने यो होटल अबको दुई महिनमा नै पूर्ण क्षमतामा चल्ने भएको छ ।

यो होटल हालसम्म सञ्चालनमा रहेकामध्ये क्षमताका हिसाबले सबैभन्दा ठूलो हो । गुण ग्रुपको द मासिफ होटलले निर्माण गरेको यो होटलमा ३०८ वटा कोठा छ । फ्रेन्च होटल लुभ्र होटल्स ग्रुप अन्तर्ग रोयल टुलिप ब्रान्डको होटल नेपालमा पहिलोपटक भित्र्याएर सञ्चालन गर्नमा पनि गुण ग्रुप सफल भएको पहिलो उदाहरण हो ।

लुभ्र होटल्स ग्रुपले विश्वभर ७० देशमा १ हजार ७५० भन्दा बढी होटल सञ्चालनमा ल्याइसकेको छ। यस समूहका ब्रान्डहरूमा प्रिमिएर क्लास, गोल्डेन ट्युलिप, क्याम्पानाइल, काइरियाड, सरोवर नेटवर्क लगायतका छन् ।

होटलका हाल १५० वटा मात्रै सञ्चालनमै रहेको र थप १५८ वटा कोठा आगामी दुई महिनाभित्रै सञ्चालनमा ल्याउने तयारी भइरहेको रोयल टुलिप काठमाडौं महाप्रवन्धक बलराम पाठकले बताए । उनले भने, ‘कोठा र सेमिनार गर्न सक्ने क्षमताका हिसावले सबैभन्दा ठूलो होटल भएकोले सोही अनुसार पाहुनाको विश्वास पनि बढ्न थालेको छ ।’

होटलले अन्तर्राष्ट्रिय प्रवर्द्धनलाई बढाएको छ । भारत, चीन, यूरोपसहितका गन्तव्यमा प्रवर्द्धन बढाएर पर्यटक आकर्षित गर्न थालेको रोयल टुलिप पूर्ण क्षमतामा सञ्चालनमा आउने भएसँगै पर्यटकीय उत्साहपनि बढेको पाठक बताउँछन् । यो होटल पाटन दरबार क्षेत्रबाट नजिक, भक्तपुर दरबार क्षेत्रबाट नजिक, विमानस्थलबाट नजिक भएसँगै प्रमुख साइटसिनमा जान सहज हुने होटलको रूपमा समेत प्रवर्द्धन गरिरहेका उनले बताए ।

काठमाडौंमा सबैभन्दा ठूलो सभा सम्मेलन गर्नुपर्दा अहिलेसम्म उपलब्ध होटलमध्ये रोयल टुलिप उपयुक्त हुने गरी क्षमता बनाएको छ । यो होटलमा २०/२५ जना देखि एकैपटक १५ सय जनालाईको सेमिनार गोष्ठि गर्न उपयुक्त गन्तव्य यही होटललाई बनाउन सकिने भएको छ । यो होटलले नेपालमा सभा सम्मेलन गोष्ठी र सेमिनार (माइस) पर्यटनको प्रवर्द्धन गर्न थप सहयोगी हुने भएको छ ।

रोयल टुलिप ब्रान्डका होटल काठमाडौंमा २ वटा सहित नेपालभर तीन वटा सञ्चालन हुँदै छ । । चितवनको साैराहा र ललितपुरको ग्वार्कोमा एक-एक वटा पाँचतारे होटलमा भित्रिएको रोयल टुलिप काठमाडौं‌काे बुढानिलकण्ठबाट समेत सञ्चालनको तयारीमा छ ।

ललितपुरको यो होटलमा एकैपटकमा ६ सय वटा कार पार्किङ गर्न सकिने क्षमतासहित ३० हजार स्क्वायर फिटको मिटिङ हल भएकोले माइस पर्यटन प्रवर्द्धन गर्न यो होटल उपयुक्त हुने उल्लेख छ । होटलमा रहेका ३०८ वटा कोठामध्ये डिलक्स २६० वटा, प्रिमियम ३६ वटा, रोयल क्लव १० वटा र प्रेसिडेन्टल २ वटा छन् ।

होटलमा २०० जना क्षमताको नुप्से, ३०० क्षमताको लोत्से, १५ सय क्षमताको सगरमाथा, ५० क्षमताको धौलागिरि, ७५ क्षमताको कन्चनजंघा, ७५ क्षमताकै लाङटाङ, ५० क्षमताको मकालु, ७५ क्षमताको मनास्लु, ७५ क्षमताको निलगिरि र २०० क्षमताको गौरीशंकरसहितका सबै हिमालकै नामबाट राखिएका १० वटा सेमिनार हल छन् ।

Skip This