
एजेन्सी । गत अक्टोबर महिनामा पाकिस्तानसँग भएको सीमासंघर्षपछि अफगानिस्तान व्यापारका साझेदारहरूको विविधीकरण प्रयासमा जुटेको छ । यसले गर्दा दुवै देशका सीमावर्ती बासिन्दालाई असर पारेको छ ।
दक्षिण एशियाली छिमेकी यी दुई देशबीच सन् २०२१ मा तालिबानले काबुल नियन्त्रण लिएपछि विवाद बढ्दै गएको छ ।
पाकिस्तानले अफगानिस्तानलाई सीमापार आक्रमणमा संलग्न लडाकुहरू लुकाइराखेको आरोप लगाउँदै आएको छ । तालिबान सरकारले त्यसलाई अस्वीकार गरेको छ ।
अफगानिस्तानका आर्थिक मामिलाका उपप्रधानमन्त्री अब्दुल गनी बरादरले गत हप्ता व्यापारीहरूलाई पाकिस्तानको सट्टा अन्य वैकल्पिक मार्गतर्फ व्यापार मोड्न आग्रह गरेका थिए ।
पाकिस्तान अफगानिस्तानको मुख्य व्यापारिक साझेदार हो । पाकिस्तानले चामल, औषधि र कच्चा पदार्थ आपूर्ति गर्छ र सन् २०२४ मा अफगानिस्तानका कुल निर्यातको ४५ प्रतिशत सामान पाकिस्तानमै पुगेको विश्व बैंकको तथ्यांकले देखाउँछ ।
यीमध्ये ७० प्रतिशतभन्दा बढी डोरी, पिस्ता, अंगुर, अनारजस्ता छिट्टै बिग्रिने कृषिजन्य वस्तु हुन् । त्यसको मूल्य १.४ अर्ब डलर हुन्छ ।
अक्टोबर १२ मा सीमा बन्द हुँदा दर्जनौं अफगान ट्रकहरू नष्ट हुँदै गएको तरकारी र फलफूलसहित अलपत्र परेका थिए । यसअघि भएको घातक दोहोरो गोली हानाहानपछि युद्धविराम लागू भएको थियो तर त्यो कमजोर थियो ।
पाकिस्तान–अफगानिस्तान संयुक्त चेम्बर अफ कमर्सका अनुसार दुवैतर्फको नोक्सानी १० करोड डलर नाघिसकेको छ । सीमामा रहेका करिब २५ हजार मजदुर प्रभावित भएका छन् ।
बरादरले चेतावनी दिँदै व्यापारीहरू अझै पाकिस्तानमै निर्भर रहे भने काबुल सरकारले हस्तक्षेप नगर्ने बताए ।
सम्भावित थप अवरोध आउने सम्भावनाका बीच तालिबान सरकारले अब इरान, मध्य एशिया तथा अन्य देशतर्फ ध्यान मोड्दैछ ।
पश्चिमी अफगानिस्तानको हेरात चेम्बर अफ कमर्सका प्रमुख मोहम्मद युसुफ अमिनका अनुसार, अक्टोबरको मध्यदेखि इरान र तुर्कमेनिस्तानसँगको व्यापार ६०–७० प्रतिशतले बढेको छ ।
काबुलले गत महिनामा पहिलोपटक रुसतर्फ स्याउ र अनार पठाएको छ ।
तालिबान सरकारलाई आधिकारिक रूपमा मान्यता दिने एक मात्र देश रुस हो ।
तालिबान नेताहरूले अझै व्यापक मान्यता र विदेशी लगानी खोजेका छन् । तर, तालिबानका उच्चपदस्थ नेतामाथिको प्रतिबन्धका कारण विदेशी लगानीकर्ताहरू सतर्क छन् ।
भारतको ठूलो बजार अफगानिस्तानका लागि ठूलो आकर्षण बनेको छ । आइतबार सरकारी स्वामित्वको एरिआना अफगान एयरलाइन्सले १.४ अर्ब जनसंख्या भएको भारततर्फ कार्गो भाडा घटाएको छ ।
त्यसको दुई दिनपछि काबुलले आफ्नो वाणिज्य तथा उद्योगमन्त्रीलाई नयाँ दिल्ली पठायो ।
‘अफगानिस्तानसँग धेरै फलफूल र तरकारी छ तर चिस्यानयुक्त गोदाम नभएकाले भण्डारण गर्न सकिँदैन,’ आईएमएफका पूर्वसल्लाहकार तथा अर्थविश्लेषक तोरेक फरहादी भन्छन्, ‘निर्यात नै एक मात्र उपाय हो ।’
काबुलले इरानको चाबहार बन्दरगाहलाई पाकिस्तानका दक्षिणी बन्दरगाहको विकल्पको रूपमा प्रचार गरिरहेको छ । तर फरहादीका अनुसार यो मार्ग धेरै टाढा, महँगो र तेहरानमाथिको अमेरिकी प्रतिबन्धका कारण उपयोगका लागि अनुपयुक्त छ ।
‘व्यापार युद्ध अन्त्य गर्नु दुवै देशका लागि राम्रो हुनेछ,’ फारहादी भन्छन्, ‘उनीहरू एकअर्कालाई आवश्यक छन् ।’
अफगानिस्तानले पाकिस्तानको २४ करोड जनसंख्या भएको बजार र समुद्री पहुँच प्रयोग गर्नुपर्छ भने पाकिस्तानलाई मध्य एसियासँग वस्त्र र ऊर्जा व्यापार गर्न अफगान ट्रान्जिट मार्ग चाहिन्छ ।
सीमा नजिकको पेशावरमा बजारबाट अफगान फलफूल–तरकारी लगभग हराइसकेका छन् ।
अंगुरको मूल्य चारगुणा बढेको छ र टमाटर २०० रुपैयाँ प्रतिकिलो नाघेको एएफपीले जनाएको छ ।








प्रतिक्रिया