
विराटनगर । युवालाई रोजगारीसँग जोड्दै स्वदेशमै रोजगारीका नयाँ अवसर सिर्जना गर्ने उद्देश्यले उद्योग संगठन मोरङ र एसओएस चिल्ड्रेन्स भिलेज नेपाल बीच सहकार्य हुने भएको छ ।
दुवै संस्थाका प्रतिनिधिहरूले हाल युवाहरूले अवसर नपाएर विदेशिन बाध्य हुने क्रम बढ्दै गएको अवस्थामा यस्तो साझेदारीले उनीहरूलाई प्रत्यक्ष रोजगारीका अवसरसँग जोड्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले संगठनले युवालाई रोजगारीसँग अभिमुख गराउन स्कुल–टु–वर्क कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी दिए ।
उनले संगठनले सञ्चालन गरिसकेको स्टार्टअप एण्ड इनोभेशन, सीपमूख तालिम, सीप उत्सव जस्ता कार्यक्रम सफल भएको उल्लेख गर्दै आगामी दिनमा युवामुखी कार्यक्रमहरूले उद्यमशीलता विकास, स्वरोजगार र रोजगारीका क्षेत्रमा नया आयाम थप्ने विश्वास व्यक्त गरे ।
एसओएस नेपालका परियोजना निर्देशक डिसी चौधरीले एसओएसका गतिविधिहरू प्रस्तुत गर्दै उद्योगहरूमा योग्य, परिश्रमी र सीपयुक्त जनशक्तिको माग बढिरहेको वर्तमान अवस्थामा युवालाई स्वदेशमै अवसर सिर्जना गर्नु सबैको साझा दायित्व भएको बताए । उनले युवालाई सही मार्गदर्शन र अवसर प्रदान गर्नसके उनीहरू औद्योगिक विकासका महत्वपूर्ण ऊर्जा बन्न सक्ने धारणा राखे ।
संगठनका उपाध्यक्ष सुरेन्द्र गोल्छा र विपिन कावराले निजी क्षेत्र र युवाबीचको सम्बन्धलाई बलियो र दिगो बनाउन निरन्तर संवाद र सहकार्य अत्यावश्यक रहेको उल्लेख गरे ।








प्रतिक्रिया