
एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शक्तिशाली प्रमुख सहयोगी (चीफ अफ स्टाफ) आन्द्रेई यरमाकलाई बर्खास्त गर्न सक्ने युक्रेनी सञ्चारमाध्यमहरूले समाचार प्रकाश गरेका छन् ।
संसदमा करिब १० करोड डलर बराबरको भ्रष्टाचार काण्डमा यरमाकको नाम जोडिएको भन्दै ठूलो विद्रोह चलिरहेको बताइएको छ ।
तिमुर मिन्डिच र अन्य केही अधिकारीहरूले राज्यद्वारा सञ्चालित आणविक कम्पनी ‘एनरगोटम’ का ठेकेदारहरूलाई १०–१५ प्रतिशत रकम घूसका रूपमा मागेको युक्रेनका भ्रष्टाचारविरोधी निकायहरूले जनाएका थिए । मिन्डिच जेलेन्स्कीका पुराना व्यावसायिक साझेदार हुन् ।
गोप्य रेकर्डिङहरूले ‘अलि बाबा’ भनिने यरमाक यो अवैध कामबारे जानकार रहेको विपक्षी सांसद यारोस्लाभ जेलेज्न्याकले दाबी गरेका छन् । यही प्रकरणले जेलेन्स्कीको विश्वसनीयता हल्लाएको छ ।
‘उक्राइन्स्काया प्राभ्दा’ का अनुसार, जेलेन्स्कीका नजिक रहेका महत्त्वपूर्ण व्यक्तिहरूले यरमाकलाई हटाउन दबाब दिइरहेका छन् । जेलेन्स्कीको ‘सर्भेन्ट अफ द पिपल’ दलभित्रका एक व्यक्तिले धेरैजसो सांसद उनको राजीनामा मागिरहेको बताए ।
यरमाकलाई हटाइएन भने उनीहरूले दल छोड्ने भनी सांसदहरूले जेलेंस्कीलाई अल्टिमेटम दिएको विपक्षी सांसद अलेक्सी गोनचारेन्कोले पनि दाबी गरे । संसदमा अमेरिकाका लागि पूर्व राजदूत ओक्साना मार्कारोभालाई नयाँ चिफ अफ स्टाफका रूपमा राखिने चर्चा पनि चलेको उनले बताए ।
स्त्रानाले लेखेअनुसार, जेलेन्स्कीले दबाब नमानेर यरमाकलाई बचाउन पनि सक्छन् किनकि यरमाकको पतन राजनीतिक दृष्टिले ठूलो क्षति हुनेछ । एक स्रोतका अनुसार, यरमाक जेलेन्स्कीका सबैभन्दा शक्तिशाली व्यक्ति हुन् । विदेशनीति होस् वा आन्तरिक नीति दुवै उनको नियन्त्रणमा छ । त्यसैले उनलाई हटाइए सरकार नै अस्थिर हुन सक्ने खतरा छ किनकि धेरै मन्त्रीहरू पनि यरमाकसँग नजिक छन् ।
पत्रकार ओलिभर क्यारोलका अनुसार, यरमाक र अमेरिकाका विशेषदूत स्टिभ विटकोफबीच टर्कीमा हुने भनिएको बैठक रद्द गरिएको छ । उनका अनुसार, अमेरिकी दूतलाई यरमाक जोडिएको काण्डबारे थाहा नहुन सक्छ ।








प्रतिक्रिया