रोनाल्डोलाई भेटेर के भने ट्रम्पले ?


एजेन्सी । फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले ह्वाइट हाउस भ्रमण गरेका छन् ।

साउदी अरबका युवराज मोहम्मद बिन सलमानको भ्रमण टोलीमा रोनाल्डो पनि सहभागी छन् । रोनाल्डो साउदीको अल नासर क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका छन् ।

रोनाल्डोले ह्वाइट हाउस भ्रमण गर्दा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पका १९ वर्षका छोरा ब्यारन खुशी भएका छन् ।

ट्रम्पले साउदी प्रतिनिधिमण्डलको सम्मानमा आयोजित डिनरमा भने, ‘मेरो छोरा रोनाल्डोको ठूलो फ्यान हो । ब्यारनले उनलाई भेट्न पायो । अब उसले आफ्नो बुवालाई अलि बढी सम्मान गर्छ जस्तो लाग्छ किनकि मैले नै तपाईंलाई उससँग परिचय गराएँ ।’

४० वर्षका रोनाल्डो पोर्चुगलका सबैभन्दा धेरै खेल्ने र धेरै गोल गर्ने खेलाडी हुन् । उनी अर्को वर्ष अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपमा पनि खेल्ने योजना बनाइरहेका छन् ।

सन् २०३४ को फुटबल विश्वकप साउदी अरबमा हुने भएको छ । आलोचकहरूले साउदीलाई स्पोट्र्सवाशिङको आरोप लगाउने गरेका छन् । खेलकुदमार्फत देशको खराब मानवअधिकार अवस्थाबाट ध्यान हटाउने प्रयासलाई स्पोट्र्सवाशिङ भनिन्छ ।