पत्रकार खाशोग्जीलाई साउदी अरबले गरेको हत्याका विषयमा ट्रम्पले बिन सलमानको गरे बचाउ


एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प सन् २०१८ मा पत्रकार जमाल खाशोग्जीको हत्याका बारेमा सोधिएको प्रश्न सुनेर आक्रोशित भएका छन् ।

उनले ती साउदी पत्रकार धेरै विवादास्पद भएको टिप्पणी गरे । यो विषय आफ्ना पाहुनालाई लज्जित बनाउनका लागि मात्र उठाइएको भनी उनले जवाफ फर्काए ।

‘तपाईं एकदमै विवादास्पद व्यक्तिको कुरा गर्दै हुनुहुन्छ । धेरै मानिसले उनलाई मन पराउँदैनथे । मन परे–नपरे जे भए पनि, कहिलेकाहीँ यस्ता कुरा हुन्छन्,’ ट्रम्पले ओभल अफिसमा साउदी युवराज मोहम्मद बिन सलमानको स्वागत गरेपछि बताए ।

युवराज बिन सलमान उक्त हत्यामा संलग्न नरहेको ट्रम्पले दाबी गरे । अमेरिकी गुप्तचर निकाय सीआईएले खाशोग्जीको हत्या गराउन बिन सलमानले आदेश दिएको अनुमान गरेको थियो ।

‘उनी केही पनि जान्दैनथे, यो कुरालाई यहीँ टुंग्याऔं,’ ट्रम्पले भने ।

खाशोग्जीको हत्यापछि युवराजले बेहोरिरहेको कूटनीतिक बहिष्कार अब सकिएको संकेत यसबाट पाइएको छ । सात वर्षभन्दा बढी समयपछि बिन सलमानले गरेको पहिलो ह्वाइट हाउस भ्रमणमा राज्य–स्तरको उच्च सम्मानसहित स्वागत गरिएको थियो ।

उनको कालो मर्सिडिज लिमोजिनलाई दक्षिणी घाँसेमैदानसम्म घोडाहरूले एस्कर्ट गरेका थिए । एफ–३५ सहितका लडाकु विमानले आकाशमा उडान भरेका थिए । पछि ट्रम्पले ईस्ट रुममा बिन सलमानको सम्मानमा ब्ल्याक–टाई डिनर पनि राखे ।

ओभल अफिसमा बसेर ट्रम्पले युवराजको अद्भुत मानवअधिकार रेकर्डको प्रशंसा गरे । उनले अमेरिकामा साउदी लगानीका नयाँ सम्झौता र साउदीलाई अमेरिकी जेट बेच्ने आफ्नो योजना दोहोर्‍याए । तर, युवराजले ट्रम्पका केही प्राथमिकतामा खुला समर्थन दिएनन् ।

खाशोग्जीको हत्या इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा भएको थियो । यसमा विषयमा प्रश्न उठाइएकोमा ट्रम्पले आपत्ति जनाए ।

‘हामीका पाहुनालाई लज्जित बनाउने प्रश्न सोध्न आवश्यक छैन,’ ट्रम्पले एबीसीकी पत्रकार मेरी ब्रूसलाई भने ।

ट्रम्पको छेउमा बसेका युवराजले हत्यामा आफ्नो भूमिकाबारेको प्रश्न सुन्दा खासै असहज देखिएनन् । खाशोग्जीलाई साउदी एजेन्टहरूले मारेर टुक्य्राएका थिए ।

‘यो दुःखद र ठूलो गल्ती हो,’ युवराजले भने, ‘कुनै पत्रकारलाई अनावश्यक रूपमा ज्यान गुमाउनुपरेको कुरा सुन्नु दुःखद काम हो । हाम्रा लागि पनि यो पीडादायक भयो ।

साउदी अरबले सही तरिकाले सबै अनुसन्धानका कदमहरू चालेको र यस्तो घटना फेरि नदोहोरियोस् भनेर सबै प्रयास गरिरहेको युवराजले थपे ।

जमाल खाशोग्जीकी विधवा हनान एलातर खाशोग्जीले ट्रम्पको टिप्पणी धेरै विवादास्पद भएको प्रतिक्रिया दिइन् ।

ट्रम्पका टिप्पणीहरूले खाशोग्जीको विरासतलाई अपमान गरेको, तथ्यसँग मेल नखाएको र राष्ट्रपति कार्यालयको स्तरभन्दा तल गिरेको भन्दै वाशिङटन पोस्टले आफ्नो सम्पादकीयमा लेख्यो । खाशोग्जी द वाशिङटन पोस्टका स्तम्भकार थिए ।

ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा साउदीसँग सम्बन्ध अझ बलियो बनाउने प्रयास गरिरहेका छन् । उनले मे महिनामा रियाद गएर लगानी र सुरक्षाबारे कुराकानी गरेका थिए । उनको परिवारका साउदीसँगका व्यापारिक सम्बन्धका कारण धेरैले प्रश्न उठाए तर ट्रम्पले ती चिन्ताहरू खारेज गरे ।

साउदीले इजरायलसँग सम्बन्ध सामान्य बनाउने अब्राहम सम्झौतामा जोडिएको हेर्न ट्रम्प चाहन्छन् । तर, युवराजले प्यालेस्टाइनलाई बेग्लै राज्य बनाउने स्पष्ट मार्गचित्र नबनाएसम्म त्यो सम्भव नभएको बताए ।

‘हामी अब्राहम सम्झौतामा आउन चाहन्छौं तर द्विराष्ट्रिय समाधानको स्पष्ट मार्ग चाहिन्छ,’ युवराजले भने ।

गाजा पुनर्निर्माणका लागि सहयोगबारे पनि युवराजले स्पष्ट वाचा गरेनन् । उनले कुरा भइरहेको बताए ।

युवराजले भने अमेरिकामा साउदी लगानी ६०० अर्ब डलरबाट बढाएर १० खर्ब डलर पु¥याउने बताए । यो साउदीको वार्षिक अर्थतन्त्रजत्तिकै ठूलो हो ।

ट्रम्पले साउदीलाई नयाँ रक्षा सम्झौता र नागरिक आणविक कार्यक्रमका लागि सहयोग दिने तयारी देखाए ।

मुख्य रूपमा, उनी युवराजलाई सम्मान दिन नै केन्द्रित देखिए।

“म तपाईंलाई धन्यवाद दिन चाहन्छु,” ट्रम्पले भने। “हामी धेरै वर्षदेखि राम्रो साथी हौँ। सबै विषयमा हामी एउटै पक्षमा रहेका छौँ।”