गोल्यान ग्रुपले लुम्बिनीमा ४ अर्ब लगानीमा पाँचतारे होटल बनाउँदै, वेडिङ डेस्टिनेशन बनाइने


काठमाडौं । गोल्यान ग्रुपले लुम्बिनीमा ४ अर्ब ६० लाख रुपैयाँ लगानीमा पाँचतारे होटल बनाउने भएको छ । वेदा हस्पिटालिटी प्रालिले लुम्बिनीमा आधुनिक सेवा सुविधासहित पाँचतारे होटल बनाउने भएको हो ।

कम्पनीले होटल बनाउनका लागि २ अर्ब ८० करोड रुपैयाँ कर्जा लिई लगानी गर्ने भएको छ भने १ अर्ब २० करोड ६० लाख रुपैयाँ इक्विटीमार्फत् लगानी गर्ने जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाबाट लिने कर्जामध्ये २ अर्ब ५ करोड रुपैयाँ पाइसकेको कम्पनीले जनाएको छ । त्यसैगरी, कम्पनीका लगानीकर्ताले ३७ प्रतिशत अर्थात् ४४ करोड ६० लाख रुपैयाँ लगानीका लागि प्रतिबद्ध जनाइसकेका छन्।

कम्पनीले होटल निर्माण गर्न दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब ९२ करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब ८० करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि १२ करोड रुपैयाँको रेटिङ गराएको हो ।

कम्पनीले होटल बनाउनका लागि कन्सल्टेन्ट, आर्किटेक्चरल र ल्यान्स्केपिङ कार्य गर्न कम्पनी नियुक्त गरिसकेको छ। त्यस्तै, कम्पनीले वातावरणीय प्रभाव मूल्याङ्कनको कार्य पनि सम्पन्न गरिसकेको जनाएको छ ।

कम्पनीकाअनुसार होटलमा १ सय ७७ वटा कोठाको सुविधा हुनेछ । साथै, आधुनिक सुविधा, स्वीमिङ पुल, कन्फरेन्स र क्याङ्क्वेट हल, स्पा र अन्य सुविधा हुने छ । होटललाई वेडिङ डेस्टिनेशन बनाइने छ । सन् २०२२ मा स्थापना भएको कम्पनी गोल्यान होटलद्वारा सञ्चालित कम्पनी हो ।

होटल २ लाख ९२ हजार ७ सय ९१ स्क्वारफिट क्षेत्रफलमा फैलने छ । कम्पनीले रेष्टुरेन्ट, स्वीमिङ पुल, स्पा र क्यासिनो पहिलो चरणमा निर्माण गर्ने भएको छ ।

कम्पनीले होटलको व्यवस्थापनका लागि ह्यात इन्टरनेशन साउथ वेस्ट एसियसँग सम्झौता गरेको छ । जुन ह्यात होटल कर्पोरेसनको सहायक कम्पनी हो । कम्पनीले विश्वभर ह्यात रेजेन्सी ब्रान्डमा होटल सञ्चालन गर्दै आएको छ । कम्पनीले विश्वभर २० वटा प्रिमियर ब्रान्डको १३ सयभन्दा बढी प्रोपर्टीको व्यवस्थापन गर्दै आएको छ । कम्पनीले विश्वका ७६ वटा देशमा १३ सयभन्दा होटलको व्यवस्थापन गर्दै आएको हो ।