
काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा ३ अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ रुपैयाँ राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष सोही अवधिमा ३ अर्ब १६ करोड ७६ लाख १४ हजार ६५७ रुपैयाँ संकलन भएको थियो । यसरी हेर्दा गएको वर्षको तुलनामा चालु आर्थिक वर्षको ४ महिनामा ५ करोड ६५ लाख १० हजार ४९२ रुपैयाँ बढी राजस्व संकलन भएको हो ।
चालु आर्थिक वर्षमा महानगरले १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा ३ महिनामा २१.३३ प्रतिशत उठाएको हो । गत आर्थिक महानगरले १२ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँको लक्ष्य निर्धारण गरेका ३ महिनामा २४.५४ प्रतिशत राजस्व उठाएको थियो ।
यस हिसाबमा महानगरको राजस्व संकलन दर सुस्ताएको हो ।
महानगरले चालु आर्थिक वर्षको ४ महिनामा आन्तरिक करतर्फ १ अर्ब ९६ करोड ८१ लाख ७५ हजार ७ सय रुपैयाँ संकलन गरेको छ। गत वर्ष सोही अवधिमा १ अर्ब ९९ लाख २ लाख ६७ हजार ६९५ रुपैयाँ राजस्व संकलन गरेको थियो । यो रकम गत वर्षको तुलनामा २ करोड २० लाख ९१ हजार ९९५ रुपियाँले कम हो ।
यसरी आन्तरिक राजस्व घट्नुको कारण सम्पत्ति कर शीर्षक हो । राजस्व विभागका प्रमुख दीपक अधिकारीका अनुसार गएको वर्षको पहिलो चौमासिक अवधिमा ५० करोड ३१ लाख ३ हजार ७३८ रुपैयाँ संकलन भएको सम्पत्ति कर यस वर्षको सोही अवधिमा ४२ करोड ७६ लाख ५४ हजार २७६ रुपैयाँ संकलन भएको छ।
‘गएको वर्ष सम्पत्ति करको दर सम्बन्धित मालपोत कार्यालयले तोकेको दरमा लिने भन्ने निर्णय गरियो । यो निर्णयबाट ठुलो भवन भएका करदाताको राजस्व गुणात्मक रुपमा वृद्धि भयो । साना घर हुनेको घट्यो,’ विभागका प्रमुख अधिकारी भन्छन्, ‘यस विषयमा करदाताबाट गुनासो आएपछि २०८१ असोज महिनामा बसेको कार्यपालिका बैठकले पुरानै दरमा सम्पत्ति कर लिने निर्णय गरेपछि त्यस अवधिमा बढी कर तिरेका करदाताको यस वर्ष कर समायोजन गर्ने भनियो । यसरी समायोजन गर्दा यस वर्ष सम्पत्ति कर घटेको हो ।’
यसवर्ष बहाल कर असुली बढेको छ । गत वर्ष सोही अवधिमा ९४ करोड ८५ लाख २८ हजार १५४ रुपैयाँ वहाल कर संकलन भएकोमा यस वर्ष १ अरब २ करोड ९२ लाख ९७ हजार ५७० रुपैयाँ संकलन भएको छ ।
२०८२ जेठ २० गते सर्वोच्च अदालतको संवैधानिक इजलासले बहाल कर स्थानीय सरकारको क्षेत्राधिकार भएको फैसला गरेपछि साविकमा संघ सरकारका आन्तरिक राजस्व कार्यालयहरुबाट उठाइँदै आएको कर महानगरपालिकामै जम्मा थालेपछि वहाल कर बढेको अधिकारी बताउँछन् ।
यस वर्ष व्यवसाय करमा पनि वृद्धि भएको छ । गत वर्ष व्यवसाय करबाट २२ करोड ८७ लाख ८ हजार ७०८ रुपैयाँ संकलन भएको थियो । यस वर्ष २३ करोड ३२ लाख ३६ हजार १७० रुपैयाँ असुली भएको छ ।
त्यस्तै भवन नक्सा शुल्कबाट संकलन हुँदै आएको रकम भने चालु आर्थिक वर्षमा घटेको छ । गतवर्ष १२ करोड ६ लाख ६६ हजार ६४९ रुपैयाँ संकलन भवन नक्सा शुल्क यस वर्ष ८ करोड ८८ लाख ६ हजार ८८१ मात्र संकलन भएको छ । सहरमा भवन निर्माण गर्ने क्रम घटेसँगै राजस्व असुली पनि घटेको हो ।








प्रतिक्रिया