एनपीएल सिजन २

पहिलो सिजनको लय कायम राख्ने दबाबमा सुदूरपश्चिम, काठमाडौं उच्च मनोबलमा


काठमाडौं । सुदूरपश्चिम रोयल्स पहिलो संस्करणको उपविजेता टोली हो । अघिल्लो सिजन प्रतियोगितामा एक खेलमा मात्र पराजित हुँदै फाइनलसम्म पुगे पनि सुदूरपश्चिमले उपाधि भने जित्न सकेन ।

सुदूरपश्चिमलाई फाइनलसम्म पुर्‍याउन कप्तान दीपेन्द्र सिंह ऐरीको मुख्य भूमिका थियो । तर, यो सिजन सुदूरपश्चिमको टोली अघिल्लो सिजनजस्तो बलियो देखिएको छैन ।

आज काठमाण्डू गोर्खाजसँग खेल्न लागेको सुदूरपश्चिमलाई पहिलो खेलमै दबाब हुने देखिन्छ । काठमाण्डूले यसअघि नै साविकको विजेता जनकपुर बोल्ट्सलाई हराउँदै प्रतियोगिताको विजयी सुरुवात गरिसकेको छ । साविक विजेतालाई हराएपछि काठमाण्डू उच्च मनोबलमा छ ।

गत सिजन नेट रन रेटका आधारमा शीर्ष चारमा पुग्न नसकेको काठमाण्डू यस सिजन बलियो देखिएको छ । अर्कोतर्फ, सुदूरपश्चिम भने अघिल्लो सिजनको लिग चरणमा ७ खेल खेल्दा केवल एक खेलमा मात्र पराजित भएको थियो ।

सुदूरपश्चिमले पहिलो सिजनमा काठमाण्डूलाई ७३ रनले हराएको थियो ।

अघिल्लो सिजन उत्कृष्ट प्रदर्शन गर्दा पनि उपाधि जित्न नसकेको सुदूरपश्चिम यस सिजन उपाधि जित्ने दबाबमा छ । कप्तान दीपेन्द्रले टिमले गत सिजनको उपाधि यात्रालाई यो पटक सुखद अन्त्य गर्ने बताएका छन् ।

‘जहाँबाट हामी चुकेका थियौँ, त्यहीँबाट यो सिजनको सुरुवात गर्नेछौँ । उपाधि जित्नका लागि हामी तयार छौँ,’ दीपेन्द्रले खेलअघिको पत्रकार सम्मेलनमा भनेका थिए ।

यता, काठमाण्डू गोर्खाजका कप्तान करण केसीले पहिलो खेलमा साविक विजेतालाई हराउँदै गरेको विजयी सुरुवातलाई निरन्तरता दिने बताए । उनले पहिलो खेलमा गरेको प्रदर्शनलाई अझ बलियो रूपमा प्रस्तुत गर्ने दाबी गरे ।

‘पहिलो खेलमा राम्रो नतिजा आएपछि हामी यो खेलका लागि पूर्ण रूपमा तैयार छौँ । सन्तुलित टिमलाई यही उच्च मनोबलका साथ अगाडि बढाउनुपर्छ,’ केसीले भने ।