
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भेट्न जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका नौ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगलबार दिउँसो परिसरमै रहेका प्रसाईंलाई भेट्न आएका उनका निजी सुरक्षा गार्ड तथा नागरिक बचाउ महाअभियानका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ भएको छ भने उनीहरू चढेका सवारीसाधनको समेत प्रहरीले खानतलासी गरेको छ ।
प्रसाईंलाई सार्वजनिक शान्ति भंग हुने अभिव्यक्ति दिएको आरोपमा सोमबार राति प्रहरीले उनको भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिइसकेको छ ।
यसैबीच, आजै नागरिक बचाउ महाअभियानका सदस्यहरूले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै प्रसाईंलाई २४ घण्टाभित्र रिहा गर्न माग गरेका छन् । प्रसाईंले मंसिर ७ गतेदेखि आन्दोलन सुरु गर्ने घोषणा गरेपछि सरकारले उनको गतिविधि र समर्थकमाथि निगरानी कडा पारेको बताइएको छ।










प्रतिक्रिया