
एजेन्सी । चिनियाँ यात्रुहरूले जापान जानका लागि किनेका हजारौं हवाई टिकट रद्द गरेका छन् ।
जापानले ताइवानबारे कडा धारणा लिएपछि दुवै देशबीच चलेको कूटनीतिक विवादका कारण भिसा प्रक्रिया र सांस्कृतिक कार्यक्रमहरू स्थगित भएको खबर सार्वजनिक भएसँगै चिनियाँहरूले टिकट रद्द गरेका हुन् ।
व्यापारिक समूहहरूको दबाबपछि जापानले तनाव कम गर्ने प्रयासस्वरूप एक वरिष्ठ कूटनीतिकर्मीलाई बेइजिङ पठाएको छ ।
यसअघि जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले ताइवानमाथि चीनले आक्रमण गरेमा जापान पनि सैन्य रूपमा संलग्न हुन सक्ने संकेत दिएकी थिइन् । उनका भनाइहरूले चीनको सरकारलाई क्रोधित बनाएको छ । चीनले आफ्ना नागरिक तथा विद्यार्थीलाई जापान नजान चेतावनी दिएको छ ।
कम्तीमा सातवटा चिनियाँ एयरलाइन्स, जसमध्ये तीन सरकारी एयरलाइन्स पनि छन्, ले जापान जाने यात्रुहरूलाई निःशुल्क टिकट रद्द गर्ने सुविधा दिएका छन् ।
हवाई यात्रा विश्लेषक हानमिङ लीका अनुसार १५ देखि १७ नोभेम्बरबीच करिब ५ लाख टिकटहरू रद्द भएका संकेत पाइन्छन् ।
जापानका लागि चीन दोस्रो ठूलो पर्यटक स्रोत हो र जापानमा रहेका अधिकांश अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये धेरैजसो चिनियाँ छन् । त्यसकारण जापानी यात्रासम्बन्धी कम्पनीहरूको सेयर मूल्य सोमबार अचानक घट्यो ।
लीका अनुसार, कोभिड महामारीको सुरुआतपछिको सबैभन्दा ठूलो संख्यामा टिकट रद्द गरिएको घटना हो । तर, यसले चीनको घरेलु हवाई उद्योगलाई ठूलो असर पर्दैन । चीन–जापान बजार ठूलो नभएकाले एयरलाइन्सलाई ठूलो घाटा हुँदैन ।
चीनका केही ट्राभल एजेन्सीहरूले जापान जाने व्यक्तिहरूको भिसा निवेदन प्रक्रिया रोकिदिएको बताएका छन् । केही स्थानीय चीन–जापान सांस्कृतिक कार्यक्रमहरू पनि रद्द भएका छन् ।
चीनमा कम्तीमा दुई जापानी चलचित्रको प्रदर्शन अनिश्चितकालका लागि रोकिएको छ । ‘डिमन स्लेयरः इन्फिनिटी क्यासल’ को कमजोर बक्स अफिस प्रदर्शनमा ताकाइचीप्रति चिनियाँ दर्शकको असन्तुष्टि झल्किएको बताइएको छ ।
यी घटनाहरूले जापानी उद्योग समूहहरू आत्तिएका छन् । जापानको व्यापारिक संगठनका अध्यक्षले सोमबार ताकाइचीसँग भेटेर तनाव कम गर्न आग्रह गरेका छन् । राजनीतिक स्थिरता आर्थिक कारोबारको पूर्वशर्त भएको उनले बताए ।
सोमबार टोक्योले शीर्ष कूटनीतिकर्मी मसाआकी कानाइलाई बेइजिङ पठाएको छ । उनले चिनियाँ समकक्षीसँग भेट्ने अपेक्षा छ ।
ताकाइचीले भने आफ्ना भनाइ फिर्ता लिन अस्वीकार गरेकी छन् जबकि त्यही नै चीनको मुख्य माग हो । जापानी सरकारले भने आफ्ना ताइवान सम्बन्धी नीति अपरिवर्तित रहेको स्पष्ट पारेको छ ।
ताकाइचीले ताइवानमाथि हमला जापानको अस्तित्वमै खतरा हुन सक्ने बताएकी थिइन् । त्यसले जापानलाई आत्मरक्षाको अधिकार दिने उनको भनाइ छ । दोस्रो विश्वयुद्धपछिको जापानी संविधानले अन्तर्राष्ट्रिय विवाद समाधानमा बल प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।
ताइवानमाथि आक्रमण भए जापानको संलग्नता चीनका लागि अत्यन्तै संवेदनशील विषय हो । अमेरिका ताइवानको मुख्य समर्थक हो तर उसले प्रत्यक्ष रक्षा प्रतिबद्धता गरेको छैन । तर, जापान–अमेरिका सुरक्षा सन्धिले जापानमाथि आक्रमण भए दुवैले एक–अर्कालाई रक्षा गर्ने प्रतिबद्धता राख्छ । त्यसले गर्दा जापान संलग्न हुँदा अमेरिका पनि युद्धमा तानिन सक्ने सम्भावना छ ।
जापानले चीनस्थित आफ्ना नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ । अत्यधिक भीडभाडबाट टाढा रहन, स्थानीय कानूनको सम्मान गर्न र विशेष सतर्कता अपनाउन सुझाव दिइएको छ । पछिल्लो तथ्यांकअनुसार, चीनमा १ लाखभन्दा बढी जापानी नागरिक बस्दै आएका छन् ।
चीनको विदेश मन्त्रालयले भने विदेशी नागरिकहरूको सुरक्षालाई आफूहरूले सदैव कानूनअनुसार प्रत्याभूति गर्ने जनाएको छ ।








प्रतिक्रिया