
एजेन्सी । बिहार विधानसभा चुनावमा प्रशान्त किशोरको जन सुराज पार्टीले एउटा सिट पनि नजितेपछि ‘आत्ममन्थन’ गर्ने बताएका छन् ।
उनले बिहीबार नोभेम्बर २० मा गान्धी विदर्भ आश्रममा एकदिनको मौन व्रत बस्ने घोषणा पनि गरेका छन् । उनले यसलाई प्रायश्चितका रूपमा वर्णन गरे ।
‘हामीले आत्म–अवलोकन गर्नेछौं । अब बिहारका मुद्दाहरूमा काम गर्नु नीतीशजी र भाजपाको जिम्मेवारी हो । जन सुराजसँग जोडिँदै नयाँ व्यवस्था सम्भव छ भन्ने सोच राखेका मानिसको सपना टुटेकोमा म जिम्मेवार छु । प्रायश्चित्तको प्रयासस्वरूप म २० तारिखमा गान्धी विदर्भ आश्रममा एक दिन मौन व्रत बस्नेछु,’ किशोरले चुनावी नतिजापछि पहिलो प्रतिक्रिया दिँदै भने ।
पराजयलाई स्वीकार गर्दै उनले इमान्दारी र आत्मचिन्तनको आवश्यकता रहेको बताए ।
‘हामीले इमान्दार प्रयास गर्यौं, तर पूर्ण रूपमा असफल भयौं । यसलाई स्वीकार्दा कुनै हानि हुँदैन । सिस्टम परिवर्तनको कुरा त परै जाओस्, हामीले सत्तापरिवर्तन पनि गर्न सकेनौं । तैपनि हामीले बिहारको राजनीति परिवर्तन हुने प्रक्रियामा केही भूमिका भने अवश्य खेल्यौं,’ उनले पत्रकार सम्मेलनमा बताए ।
जन सुराज पार्टीले लडेका २३८ वटा मध्ये २३६ सिटमा जमानत जोगाउन असफल भयो र एक सिट पनि हात लागेन । तर, कतिपय क्षेत्रमा यस पार्टीमा खसेको भोटले जीतहारको निर्णय गरायो ।
३५ सिटमा जन सुराजले पाएको भोट संख्या नै जीतको अन्तरभन्दा बढी थियो । त्यसले गर्दा परिणाममा यस पार्टीले अप्रत्यक्ष प्रभाव परेको हो कि भन्ने प्रश्न उठेको छ ।








प्रतिक्रिया