
काठमाडौं । काठमाडौंका बत्तिसपुतलीमा बन्दै गरेको बुटिक होटलको लागत बढेको छ । सेक्युर हस्पिटालिटीले ‘होटल मन्नत’ ब्रान्डमा बनाउँदै गरेको होटलको लागत सुरुको भन्दा बढेको पाइएको हो ।
कम्पनीले सुरुमा १ अर्ब १७ करोड ४० लाख रुपैयाँमा उक्त होटल निर्माण गर्ने भनिएको थियो । सो लागत बढेर अहिले १ अब ४० करोड ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।
कम्पनीले ४० वटा कोठा सुविधासहित बुटिक होटल निर्माण गरिरहेको छ ।
होटलको हालसम्ममा ९० प्रतिशत आर्थिक प्रगति भइसकेको छ भने ८५ प्रतिशत भौतिक प्रगति भएको रेटिङमा उल्लेख छ । होटल ८ सय १ स्क्वारफिटको क्षेत्रफलमा फैलनेछ ।
कम्पनीले लगानीको अनुपात ७०:३० राखेको छ । जसमा ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई लगानी गर्ने भएको छ । बाँकी ३० प्रतिशत इक्विटीमार्फत् लगानी गर्नेछ । होटलको लागत बढ्नुको मुख्य कारण कोभिड–१९ र जेन–जी आन्दोलनले गर्दा निर्माणमा प्रभाव परेको कम्पनीले जनाएको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ९९ करोड ४७ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ९७ करोड ९७ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको हो ।
कम्पनीले होटलको निर्माण कार्य सम्पन्न गरी आगामी जनवरीबाट आंशिक रुपमा सञ्चालनमा ल्याउने तयारी गरेको छ । साथै, कम्पनीले सन २०२६ को जुनबाट भने पूर्ण क्षमतामा व्यवासायिक कारोबार सुरु गर्ने उल्लेख गरेको छ ।
सन् २०१९ मा स्थापना भएको कम्पनीमा दिलकुमार श्रेष्ठको पूर्ण स्वामित्व रहेको छ । होटलमा मिटिङ हल, कन्फरेन्स रुम र अन्य सुविधा उपलब्ध हुनेछन् ।







प्रतिक्रिया