
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको दोस्रो दिन दुई रोमाञ्चक खेल हुँदैछन् । एनपीएलको सबैभन्दा महँगो टोली पोखरा एभेन्जर्सले विराटनगर किङ्ससँग प्रतिस्पर्धा गर्दैछ भने अक्सनको सस्तो टोली कर्णाली याक्स चितवन राइनोजको सामना गर्दैछ ।
एनपीएलको पहिलो संस्करणमा अपेक्षित प्रदर्शन गर्न नसकेको पोखरा एभेन्जर्स यसपटक भने निकै फरक देखिएको छ । गत सिजन ७ खेलमा मात्र दुई जित हासिल गरेको पोखराले यो सिजन न्युजिल्यान्डका जिम्मी निसम जस्ता स्टार विदेशी खेलाडी अनुबन्धन देखि लिएर लोगो र थिम परिवर्तनमा समेत ठूलो लगानी गरेको छ, जसले गर्दा यो सिजन पोखरालाई हेर्न लायक टोलीको रूपमा हेरिएको छ ।
पोखराले आज आफ्नो पहिलो खेलमा विराटनगर किङ्ससँग प्रतिस्पर्धा गर्दैछ । गत सिजन यी दुई टोलीबीचको सुपर ओभरको खेलमा पोखराले विराटनगरमाथि जित निकालेको थियो । त्यसैले आजको खेल दुवै टोलीका लागि महत्त्वपूर्ण हुनेछ ।
यता यो सिजन सर्वाधिक चर्चामा रहेको विराटनगर किङ्स पनि उत्तिकै बलियो देखिएको छ । दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस र न्युजिल्यान्डका मार्टिन गप्टिल जस्ता विश्वस्तरीय खेलाडी अनुबन्ध गरेको विराटनगरले पुबुदु दासानायकेलाई मुख्य प्रशिक्षक बनाएको छ ।
स्टार लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर सहज जितसहित प्रतियोगिताको सुरुवात गर्ने लक्ष्यमा छ । यद्यपि, फाफ डु प्लेसिस भने आजको खेलमा उपस्थित हुने छैनन् । पोखरा र विराटनगरबीचको खेल साँझ ४:१५ मा सुरु हुनेछ ।
आजै हुने दोस्रो खेलमा अक्सनकै सस्तो टोली कर्णाली याक्सले चितवन राइनोजसँग प्रतिस्पर्धा गर्दैछ । गत सिजनको इलिमिनेटर राउन्डमा चितवन कर्णाली याक्ससँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । यसकारण, चितवन उक्त हारको बदला लिँदै विजयी सुरुवात गर्न चाहन्छ ।
कुशल मल्लको कप्तानीमा रहेको चितवन सहज जित निकाल्दै प्रतियोगितामा राम्रो छाप छोड्ने योजनामा छ । उता, सोमपाल कामीको कप्तानीमा रहेको टोली कर्णाली क्वालिफायर २ मा जनकपुरसँग पराजित भई बाहिरिए पनि यसपटक जितको लय समात्दै गत सिजनको निराशालाई बिर्सन चाहन्छ ।
कर्णाली र चितवनबीचको खेल बिहान ११:४५ बाट सुरु हुनेछ ।








प्रतिक्रिया