
काठमाडौं । नेपाल एयरलाइन्सका विमान डाइभर्ट भएर भारत वा अन्य देश नजाने भएको छ । राजधानीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसके एयरलाइन्सको जहाज भारतको नयाँ दिल्ली जाने गरेको थियो । त्यतिबेला देशमै अन्य २ वटा अन्तर्राष्ट्रिय विमानस्थल हुँदाहुँदै भारत किन जानु परेको भन्दै आलोचना हुने गरेको छ ।
अब भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) मा विभिन्न कारणले अवतरण गर्न नसक्ने नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का जहाज भारतका विमानस्थलमा होइन, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा डाइभर्ट गरिने भएको छ । निगमले मिति २०८२ मंसिर ३ गतेदेखि लागू हुनेगरी भैरहवा विमानस्थललाई औपचारिक रूपमा वैकल्पिक विमानस्थल घोषणा गरेको छ । सो निर्णय मंसिर १ गते गरेको निगमका प्रवक्ता अनिल घिमिरेले जनाएका छन् ।
अहिलेसम्म टीआईएमा खराब मौसम, भीडभाड वा अन्य कारणले अवतरण गर्न नसक्ने अवस्था आएमा नेपाल एयरलाइन्सका जहाज नजिकैको भारतीय विमानस्थलमा डाइभर्ट हुने गर्थे । अब भने भैरहवामा ल्यान्ड हुने भएका छन् । भारत जानु नपरे पछि उल्लेखनीय खर्च कटौती हुने विश्वास निगमको छ ।
यससँगै निगमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई समेत अर्को वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्न सकिने सम्भावनामा अध्ययन प्रक्रिया सुरु गर्ने निर्णय पनि गरिएको प्रवक्ता घिमिरेले बताए ।







प्रतिक्रिया