
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण पहिलो सिजनभन्दा केही फरक देखिएको छ । एनपीएल प्रतियोगितामा पहिलो पटक प्यारापिट र फ्लड लाइटको व्यवस्था गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले ३२ मध्ये २३ खेल ‘डे नाइट’ गराउने योजना बनाएको छ। यससँगै नेपाली खेलाडीहरूले पहिलो पटक घरेलु मैदानमा रात्रिकालीन खेल खेल्ने अवसर पाएका छन् भने दर्शकले फ्लड लाइटमा घरेलु मैदानमै खेल हेर्ने सौभाग्य पाएका छन् ।
रात्रिकालीन खेल सञ्चालनका लागि क्यानलाई सुरुमा चुनौती देखिएको थियो । विश्वका धेरैजसो रंगशालामा रात्रिकालीन खेलका लागि जेनेरेटरको व्यवस्था गरिएको हुन्छ । डिजेल सकिएपछि तत्कालै भर्ने व्यवस्थाले बत्ती गए पनि जेनेरेटरले धान्ने प्रविधि अपनाइएको हुन्छ, जसले गर्दा खेल चलिरहेको समयमा बत्ती निरन्तर बलिरहन्छ ।
क्यानका सचिव पारस खड्काका अनुसार बत्तीसँगै जेनेरेटरको व्यवस्था गरेका कारण खेल चलिरहेको समयमा बत्ती जाने समस्या हुनेछैन । क्यानले यो प्रविधि र जेनेरेटरका लागि मात्र प्रतिघण्टा करिब ४४ हजार रुपैयाँ खर्च हुने जनाएको छ ।
सामान्यतया टी–ट्वान्टी क्रिकेट खेल सकिन ३ घण्टा लाग्छ । तर, ड्रिंक्स ब्रेक, इनिङ्स ब्रेक, खेल अघिको र पछिको समयलाई जोड्दा फ्लड लाइट ५ घण्टा बालिने अनुमान गरिएको छ।
डे नाइट खेल भएकाले औसतमा एक खेलमा ४ घण्टा फ्लड लाइट बालिने र २३ खेलमा क्यानले ९२ घण्टा फ्लड लाइट बाल्नेछ । केही समय थप भएमा कम्तिमा १०० घण्टा फ्लड लाइट बालिनेछ ।
मैदानमा फ्लड लाइट बाल्न ७५० केभीको दुई वटा जेनेरेटर सञ्चालन गरिने छ । एक जेनेरेटरले प्रतिघण्टा करिब १५० लिटर डिजेल खपत गर्ने र दुवै जेनेरेटर चलाउँदा प्रतिघण्टा करिब ३०० लिटर डिजेल खपत हुने प्राविधक बताउँछन् । नेपाल आयल निगमकाअनुसार काठमाडौंमा डिजेलको प्रतिलिटर मूल्य १४७ रूपैयाँ रहेको छ । यस हिसाबमा दुवै जेनेरेटर चलाउन प्रतिघण्टा ४४ हजार १ सय रूपैयाँ आसपास खर्च हुनेछ ।
यस हिसाबमा फ्लड लाइटमा खेल गराउँदा क्यानले ४४ लाख रुपैयाँ खर्च गर्नेछ ।
क्वालिफायर, एलिमिनेटर, फाइनल खेल तथा सुपर ओभरका कारण थप एक घण्टा बढी लाग्ने अनुमान गरिएको छ ।










प्रतिक्रिया