
एजेन्सी । साउदी अरबमा सोमबार बिहानै एउटा बस तेल बोकेको ट्यांकरसँग ठोक्किँदा महिला र बालबालिका सहित ४२ जना भारतीय तीर्थयात्रीको मृत्यु भएको छ ।
ती तीर्थयात्रीहरू मुख्यतः हैदराबाद क्षेत्रका थिए । मक्काबाट मदिना जाँदै गर्दा राति करिब १ः३० बजे दुर्घटना भएको थियो । तीर्थयात्रीहरू हज सिजनबाहिर गरिने धार्मिक यात्रा उमराहका लागि साउदी अरब पुगेका थिए ।
भारतले मृतकहरूको नामको सूची सार्वजनिक गरेको छ ।
भारतका विदेशमन्त्री एस जयशंकरले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै साउदी अरबस्थित भारतीय अधिकारीहरूले पीडित भारतीय नागरिक तथा परिवारलाई सहयोग गरिरहेको बताएका छन् ।
बस र इन्धन बोकेको ट्यांकर एकआपसमा ठोक्किँदा ठूलो आगलागी भएको समाचारमा उल्लेख छ । दुर्घटना हुँदा बसमा ३० भन्दा बढी महिला र बालबालिका थिए । घटना मदिनाबाट करिब १६० किमी टाढा मुफरिहात भन्ने स्थानमा भएको थियो । तीर्थयात्रीहरू मक्कामा धार्मिक अनुष्ठान पूरा गरेर मदिना जाँदै थिए ।
‘उद्धार टोलीहरूले घटनास्थललाई अत्यन्त विनाशकारी भनेर वर्णन गरेका छन्, बस पूरै जलेर नष्ट भएकाले पीडितहरूको पहिचान अत्यन्त चुनौतीपूर्ण बनेको छ,’ गल्फ न्यूजले लेख्यो ।








प्रतिक्रिया