केही घण्टामै ‘सोल्ड आउट’ एनपीएल उद्घाटन खेलको टिकट बिक्रीबाट क्यानले कति कमाउँछ ?

1.2k
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करण मंसिर १ गते(सोमबार) बाट सुरु हुँदैछ ।

उद्घाटन खेलमा पहिलो सिजनको उपाधि बिजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो पटक फ्लड लाइटमा त्रिविस्थित क्रकेट मैदानमा हुन लागेको उद्घाटन खेल अपराह्न ४ बजेबाट सुरु हुनेछ ।

नेपाल क्रिकेट संघले उद्घाटन खेलका लागि खोलेको टिकट खुलेको केही घण्टामै ‘सोल्ड आउट’ अर्थात बिक्री भएको थियो।

पुनर्निर्माणपछि त्रिवि क्रिकेट रंगशालाको दर्शकक्षमता ९ हजार ४ सय ५० पुर्‍याएको छ भने करिब तीन हजार अस्थायी सीटको व्यवस्था गरिएको छ ।

क्यानका प्रवक्ता छुम्बी लामा रंगशालाको क्षमता १० हजार हाराहारी भएको र त्यस अनुसार नै टिकट बिक्री हुने बताउँछन् ।

दर्शक बाहेक टिम म्यानेजमेन्ट, खेलाडी परिवार, क्यानको निमन्त्रणमा आएका भीआईपीलाई, मिडिया लगायतका पनि सीट व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

‘१० हजार क्षमता हो अहिलेलाई बेच्न मिल्ने । त्यसो हुँदा अहिले ८ हजार आसपास टिकट बिक्री गर्ने भन्ने छ । पहिलो दिन टिकट खोलेको २४ घण्टामा सबै बिक्री भयो । यसहिसाबमा ८ हजार आसपास टिकट बिक्री भएको छ,’ क्यानका प्रवक्ता छुम्बी लामाले भनेका छन् ।

मानौं ८ हजार टिकट बिक्री भएको छ र सबै जेनरल टिकट बिक्री भएको छ भने उद्घाटन खेलका दिन टिकट बिक्रीबाट ४० लाख आम्दानी हुनेछ । तर सबै टिकट जनरल मात्र बिक्री हुने छैन । करिब २ हजार टिकट प्रमियम पनि काटिएका कारण उद्घाटन खेलको दिन ६० लाख रुपैयाँ आसपास टिकट बिक्रीबाट आम्दानी हुने क्यान स्रोत बताउँछ ।

क्यानले उद्घाटन खेल र शनिवारका लागि जेनरल टिकट ५०० रुपैयाँ र प्रिमियम टिकट १५ सय तोकेको छ । यस्तै सामान्य दिनमा ५०० र प्रिमियम १००० रुपैयाँ तोकिएको छ भने प्ले अफ र फाइनल खेलका दिन सामान्य टिकक १ हजार र प्रिमियम २ हजार तोकिएको छ ।