
धनगढी । धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक डिपो सार्न स्थानीयबासीले १५ दिने अल्टिमेटम दिएका छन् ।
सुदूरपश्चिम प्रादेशिक डिपो नजिकैको प्रभावित शुभकामना टोल विकास संस्थाले निगमलाई ज्ञापनपत्र बुझाउँदै घनाबस्तीबीच रहेको डिपोका कारण स्थानीयको ज्यान र सम्पत्तिमा ठूलो जोखिम रहेको बताएका हुन् ।
संस्थाका अध्यक्ष दीर्घराज ओझाले बुझाएको ज्ञापनपत्रमा टोलमा ८७ घरधुरी र करिब ५०३ जनसंख्या रहेको उल्लेख गर्दै डिपोको नजिक बसोबास गर्ने बासिन्दा निरन्तर त्रासमा रहेको जनाइएको छ ।
बस्ती र डिपोबीचको दूरी अत्यन्त कम भएकाले सानो दुर्घटनाले पनि ठूलो क्षति निम्त्याउने सम्भावना रहेको भन्दै उनीहरूले तत्काल डिपोलाई अन्यत्र स्थानान्तरण गर्न आग्रह गरेका छन् ।
ज्ञापनपत्रमा भनिएको छ, “यदि हाम्रो जायज माग सम्बोधन नभएमा १५ दिनपछि सम्पूर्ण टोलवासी र प्रत्यक्ष असर पर्ने व्यवसायीहरू सहित चरणबद्ध आन्दोलनमा जानेछौं ।”
उनीहरूले निगमलाई बुझाएको ज्ञापनपत्रको प्रतिलिपि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, धनगढी उपमहानगरपालिका र वडा नं। ३ कार्यालयलाई समेत पठाइएको छ ।
स्थानीयवासीका अनुसार डिपो वरपरको क्षेत्र विगतमा खाली जमिन भए पनि अहिले तीव्र शहरीकरण हुँदै गएपछि बस्ती डिपोसम्म फैलिएको छ । आगलागी वा अन्य दुर्घटनाको जोखिम उच्च भएको भन्दै उनीहरूले पटक–पटक सरोकारवालाको ध्यानाकर्षण गराउँदै आएका छन् ।
हाल धनगढीको भीमदत्त पन्त राजमार्गसँगै जोडिएको चटकपुरमा १ विगहा ८ कटहा जग्गामा बिद्यमान डिपो सञ्चालनमा छ । यो डिपोको क्षमता २ हजार ८९० किलोलिटर क्षमताको डिपो ४५ वर्ष पहिले दैनिक ४ ट्यांकरबाट इन्धन लोड अनलोड गर्ने सुविधा मात्र छ ।
उक्त डिपो घना बस्तीसँगै भएको र अहिलेको व्यावसायिक माग समेत धान्न नसक्ने भएकाले उपयुक्त स्थानमा सार्नुपर्ने स्थानीयबासीले लामो समयदेखि माग गर्दैआएका छन् । डिपोका कारण बस्तिसमेत जोखिममा परेकाले डिपो सार्न लागिएको हो ।
यो डिपो २०३७ सालमा निर्माण भएको थियो । त्यो वेला उक्त क्षेत्रमा सर्वसाधारणको बस्ती थिएन । अहिले डिपो वरिपरी विस्तारै बाक्लो घना मानव वस्ती बसिसकेको छ ।
स्थानीयबासिन्दाले डिपो घनावस्तीको बीचमा भएको भन्दै धनगढी नगरपालिकामा दैनिक रुपमा गुनासो आउन थालेपछि नगरपालिकाले समेत उक्त डिपो सार्न निगमलाई आग्रह गर्दैआएको थियो ।
यस्तै पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई समेत स्थानीयबासीले उक्त डिपो सार्नुपर्ने भन्दै ध्यानाकर्षण गराएका थिए । तत्कालिन समयमा मन्त्री भण्डारीले समेत डिपो सार्न निगमलाई निर्देशन दिएका थिए ।
उक्त डिपो कार्यालय सार्ने प्रयास भइरहेको छ । उक्त डिपोबाट सूदुरपश्चिमको ९ जिल्ला दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर, बझाङ्ग, बाजुरा, डोटी, अछाम र कैलालीमा इन्धन बितरण भइरहेको छ ।
डिपोबाट दैनिक ८० किलोलिटर पेट्रोल, २५० किलोलिटर डिजेल बिक्री हुन्छ । डिपोमा हाल ७ दिनको माग पुग्ने गरी ७६० किलोलिटरको २ वटा डिजेलको भर्टिकल ट्याँकी छ भने ७६० किलोलिटरकै १ वटा पेट्रोलको डिपो छ ।
यसवाहेक ७०–७० किलोलिटरको पेट्रोल, डिजेल र मट्टिटेलको तीनवटा अन्डरग्राउण्ड ट्याँकी छ ।
पूर्ववर्ति सरकार केपी ओलीको सरकारले बजेट वक्तव्यमार्फत प्रत्येक प्रदेशमा कम्तीमा ९० दिनको माग धान्न गरी पेट्रोलियम पदार्थको भण्डारणगृह निर्माण गर्नुपर्ने घोषणा गरेको थियो ।
डिपो सार्ने बिषयमा यसअघि अध्ययन समितिले समेत अध्ययन गरि प्रतिवेदन बुझाइसकेको छ । निगमका उपनिर्देशकद्वय र दिवाकर मल्लिक सम्मिलित अध्ययन समितिले २०८० असार २६ गते उक्त डिपो सार्नुपर्ने प्रतिवेदन दिएको थियो ।







प्रतिक्रिया