
काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ आफू समर्थित नवगठित उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् । उनी अहिले तीनवटा मन्त्रालयको जिम्मेबारी सम्हालेका छन् ।
निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपछि बुधबार बौद्धमा बसेको केन्द्रीय समिति बैठकमा कुलमान पनि पुगेर आफ्नो धारणा राखेका थिए । बिहीबार भने दलका केन्द्रीय सदस्यहरूको मात्रै बैठक बसेको थियो ।
मन्त्री घिसिङको इच्छा अनुसार दल दर्ता भएपनि उनी पार्टीको पदीय भूमिकामा भने बसेका छैनन् ।
केन्द्रीय समितिको पहिलोपटक भएको बैठकमा सदस्यहरूबीच अन्तक्रिया गर्ने, भावी रणनीति तय गर्ने, प्रचारलाई प्रविधि मार्फत् कसरी व्यापक बनाउने लगायतका विषयमा प्रारम्भिक छलफल भएको थियो । बुधबारको बैठकमा ४५ जना केन्द्रीय सदस्य सहभागी भएको जानकारी गराइएको छ । केन्द्रीय सदस्य जीतराम लामाले बुधबार र बिहीबार पार्टीको बैठक बसेको जानकारी गराए ।
बैठकमा सहभागी नेताहरूका अनुसार ऊर्जामन्त्री घिसिङ छलफलका लागि पूरा अवधि नबसेपनि केन्द्रीय सदस्यहरूलाई आफ्ना धारणाहरू राखेर निस्किएका थिए ।
नवगठित दलको संस्थापक केन्द्रीय सदस्य बनेको भन्दै घिसिङले बधाई दिएका थिए । बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए अनुसार कुलमानले संस्थापक केन्द्रीय सदस्य हुन नसकेको उल्लेख गर्दै अन्यलाई बधाई दिँदै भनेका थिए, ‘संस्थापकको कति महत्त्व हुन्छ भन्ने तपाईंहरूलाई पछि थाहा हुन्छ ।’
पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायलाई अध्यक्ष बनाएर ५१ सदस्यीय केन्द्रीय कमिटी गत मंगलबार दर्ता हुँदा कुलमान भने आफै दलको नेतृत्वमा देखिएका छैनन ।
बुधबार भएको केन्द्रीय सदस्यहरूको अनौपचारिक बैठकमा कुलमानले मन्त्री पद छोडेर चुनावी मैदानमा आउने समय पनि जानकारी गराएका छन् । बैठकमा सहभागी नेताहरूका अनुसार चुनाव हुनु एकमहिना अघि मन्त्री पद छोडेर देशव्यापी प्रचारमा खट्ने कुलमानले जानकारी गराएका थिए ।







प्रतिक्रिया