हिमालयन बैंकको मोबाइल बैंकिङमा भइरहेको समस्याबारे के भन्छन् सीईओ ?

11.3k
Shares

काठमाडौं । हिमालयन बैंकले कोर बैंकिङ सिस्टम अपग्रेड गरेपछि मोबाइल बैंकिङमा देखिएको समस्या अझै समाधान हुन सकेको छैन ।

बैंकले तिहारको समयमा कोर बैंकिङ सिस्टम अपग्रेड गर्ने भन्दै ३ देखि १० कात्तिकसम्म मोबाइल बैंकिङ लगायत बैंकिङ सेवा नचल्ने बताएको थियो ।

बैंकले कोर बैंकिङ सफ्टवेयरलाई टी-२४ रिलिज आर-२३ मा स्तरोन्नति गरेको थियो । सोही कारण कात्तिक ३ देखि १० गतेसम्म बैंकिङ सेवा नचल्ने सूचना जारी गरेको थियो।

तर ११ गतेपछि पनि बैंकको मोबाइल बैंकिङ सेवा नचलेको भन्दै सेवाग्राहीले सामाजिक सञ्जालमा असन्तुष्टि पोखिरहेका छन् । कतिपयले पाकिस्तानको हबिब बैंकले सेयर बेचेर बाहिरिएसँगै बैंक डुब्न लागेको भनेर भ्रम समेत फैलाउन लागिपरेका छन्।

तर, बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अशोक राणा भने बैंकमा कुनै समस्या नरहेको बताउँछन्।

कोर बैंकिङ सफ्टवेयर अपग्रेड भएसँगै मोबाइल बैकिङ बाहेकका सबै बैंकिङ सेवा सुरु भइसकेको र ग्राहकको बैंक खातामा कुनै समस्या नभएको उनले बताए । तर मोबाइल बैंकिङ सिस्टममा केही समस्या भएको र त्यसको पहिचान भएकोले यो साता समस्या समाधान गरेर अर्को सातादेखि मोबाइल बैंकिङ चल्ने उनले बताए ।

अहिले पनि कनेक्ट आईपीएस, आरटीजीएस, कार्ड लगायतका सुविधाहरु सञ्चालनमा रहेको भन्दै उनले मोबाइल बैंकिङको समस्या अर्को साताबाट समाधान हुने स्पष्ट पारे ।