युक्रेनमा भ्रष्टाचारको ठूलो काण्ड, दबाबमा जेलेन्स्की

336
Shares

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की राष्ट्रपति बनेको छैटौं वर्षमा कार्यकालको सबैभन्दा ठूलो भ्रष्टाचार काण्डका कारण दबाबमा छन् ।

अनुसन्धानकर्ताहरूले जेलेन्स्कीका पूर्व व्यापारिक साझेदारमाथि करोडौं डलरको घुसखोरी योजना चलाएको आरोप लगाएको किभ इन्डिपेन्डेन्टले समाचार प्रकाशन गरेको छ ।

यो विषय टिमुर मिन्दिचसँग सम्बन्धित छ । उनी जेलेन्स्कीका लामो समयदेखिका साथी र उनको पुरानो मनोरञ्जन कम्पनी क्वार्टल ९५ का साझेदार हुन् । युक्रेनको राष्ट्रिय भ्रष्टाचार निरोधी निकाय (एनएबीयू) का अनुसार, मिन्दिचले सरकारी स्वामित्वको ऊर्जा कम्पनीका ठेकेदारहरूबाट करिब १० करोड डलर बराबरको घूस र कमिशन लिएको आरोप छ । ती ठेकेदारहरूलाई व्यावसायिक सम्झौता सुरक्षित गराउनका लागि मिन्दिचले घूस खाएका थिए ।

एनएबीयूका अनुसार, उक्त समूहले ती रकम शेल कम्पनीहरूमार्फत शुद्धीकरण गर्ने गरेको थियो । तर, मिन्दिच औपचारिक रूपमा आरोप लाग्नुअघि नै युक्रेनबाट फरार भएका थिए ।

आरम्भमा जेलेन्स्कीको कार्यालयले मिन्दिचको भूमिकालाई सामान्य बनाउने प्रयास गरेको थियो । तर, सार्वजनिक दबाब बढ्दै गएपछि राष्ट्रपति जेलेन्स्कीले आफ्नै पूर्व व्यापारिक साझेदारमाथि प्रतिबन्ध लगाउने वाचा गरे ।

राजनीतिक विश्लेषक भोलोदिमिर फेसेन्कोका अनुसार, प्रायः प्रत्येक युक्रेनी राष्ट्रपतिका लागि भित्री घेरो नै समस्याको कारण हुन्छ । जेलेन्स्कीका हकमा उनले चिनेका र विश्वास गरेका घनिष्ट साथीहरू थिए । तर, मित्रमाथि अत्यधिक भरोसा घातक हुन सक्ने भनी मिन्दिचले देखाएका छन् ।

जेलेन्स्कीले सन् २०१९ मा सत्तारोहण गर्दा भ्रष्टाचार र भाइभतिजावादविरुद्ध अभियान चलाएका थिए । उनले नयाँ अनुहारहरू राजनीतिमा ल्याउने वाचा गरेका थिए । तर, अहिले उनी आफ्नै मित्र र पुराना व्यापारिक साझेदारहरूमा अत्यधिक निर्भर भइरहेको र यो नै उनको राजनीतिक कमजोरीको मुख्य कारण बन्दै गएको विश्लेषकहरू बताउँछन् ।

राजनीतिक विश्लेषक ओलेह साकियानका अनुसार, समाजले जेलेन्स्कीलाई कुनै पार्टी वा विचारधाराका लागि नभई एउटा आशाका रूपमा भोट दिएको थियो । तर, अहिले सबै निर्णय राष्ट्रपतिको कार्यालयमै केन्द्रित छ । शक्तिमा पूर्ण नियन्त्रण कायम गर्दा भ्रष्टाचारको जोखिम बढ्छ । ढिलोचाँडो भित्री घेरामध्ये कसैले आफ्नो फाइदाका लागि खेल खेल्ने निश्चित नै थियो ।

सन् २०१९ को चुनाव अभियानका क्रममा जेलेन्स्कीले तत्कालीन राष्ट्रपति पेत्रो पोरोशेन्कोलाई उनको निकट सहयोगीबाट भएका भ्रष्टाचार प्रकरणहरूका कारण कठोर आलोचना गरेका थिए । आधुनिक राजनीतिकर्मीहरू पुराना रिसईबी, भाइभतिजावाद र व्यापारिक स्वार्थमा बाँधिएका छन् र युक्रेनलाई परिवर्तन गर्न असमर्थ छन् भनी उनले त्यतिबेला बताएका थिए ।

तर, सत्तामा आएपछि दुई वर्षमै जेलेन्स्कीको परिवार वा उनको पुरानो स्टुडियोसँग सम्बन्धित करिब ३० जनालाई उच्च सरकारी पदमा नियुक्त गरिएको किभ इन्डिपेन्डेन्टले जनाएको छ ।

भित्री घेराबारे सोध्दा जेलेन्स्कीले प्रायः आफ्नो टोलीको बचाउ गर्दै आएका छन् । सन् २०२३ मा उनले भनेका थिए, ‘मैले ५ वा ६ जना प्रबन्धकहरू सहितको सानो टोली गुमाएँ भने हाम्रो शासन कमजोर हुनेछ ।’

सन् २०२४ मा गरिएको किभ इन्टरनेशनल इन्स्टिट्युट अफ सोसियोलोजीको सर्वेक्षणअनुसार, करिब आधा युक्रेनी नागरिकहरू जेलेन्स्कीले आफ्ना चुनावी वाचाहरू थोरै वा कुनै पनि पूरा नगरेको विश्वास गरेका छन् । उनलाई असफल मान्नेहरूमध्ये ५० प्रतिशतले उनको टोलीमा बेइमान र भ्रष्ट मानिसहरू रहेको बताएका छन् र ३२ प्रतिशतले योग्य जनशक्तिको अभाव रहेको धारणा राखेका छन् ।

किभ इन्डिपेन्डेन्टका अनुसार, पछिल्ला वर्षहरूमा जेलेन्स्की नजिकका धेरै वरिष्ठ अधिकारीहरूमाथि मुद्दा चलेको वा अनुसन्धान भइरहेको छ ।

राष्ट्रपति कार्यालयका उपप्रमुख ओलेह तातारोभमाथि घूस लिएको आरोप लागेको छ तर उनी अझै पनि पदमा छन् । अर्का उपप्रमुख आन्द्री स्मर्नोभलाई सन् २०२४ मा बर्खास्त गरिएको थियो जबकि रोस्तिसलाभ शुर्मा हाल अनुसन्धानको दायरामा छन् । म्युनिखस्थित उनको अपार्टमेन्टमा छापा मारेपछि भ्रष्टाचारको खुलासा भएको थियो ।

पूर्व उपप्रधानमन्त्री ओलेक्सी चेर्निशोभमाथि अवैध सम्पत्ति आर्जनको दुईवटा आरोप लागेको छ । पूर्व महान्यायाधिवक्ता आन्द्री कोस्तिनले भ्रष्टाचारको आरोप लागेपछि राजीनामा दिएका थिए । पछि उनलाई नेदरल्यान्ड्सका लागि राजदूत नियुक्त गरिएको थियो ।

ऊर्जा क्षेत्रसँग सम्बन्धित यो नवीनतम भ्रष्टाचार प्रकरण अघि बढिरहँदा अदालतका हरेक सुनुवाइमा नयाँ विवरणहरू उजागर भइरहेका छन् ।