
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगममा कार्यकारी प्रमुख नियुक्त गर्न बनेको समितिको ११ दिनपछि आज बैठक बस्ने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले पर्यटनमन्त्रीको समेत जिम्मेवारी सम्हालेका कारण गत कात्तिक १४ गते निगमको कार्यकारी प्रमुख नियुक्त गर्न एक समिति बनाएकी थिइन् ।
प्रधानमन्त्री कार्कीले वायुसेवा निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक अर्थात कार्यकारी प्रमुख नियुक्त गर्ने प्रक्रियामा भएको प्रगतिबारे जानकारी माग गरेकी हुन ।
उनले पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेकी थिइन् । समितको सदसयमा क्याप्टेन तथा निगमकै पूर्वमहाप्रवन्धक केबी लिम्बु छन भने सदस्यसचिव मन्त्रालयकै सहसचिव रामकृष्ण लामिछाने छन् ।
कार्कीले मंगलबार सचिव मैनालीलाई आफ्नो कार्यकक्षमा बोलाएर निगमको कार्यकारी प्रमु्खको नियुक्तिको विषयमा प्रगति विवरण माग गरेकी छिन् । उनले छिटो निगमलाई कार्यकारी प्रमुख दिन निर्देशन समेत दिइन् ।
निगमका निवर्तमान कार्यकारी अध्यक्ष युवराज अधिकारीको यही कात्तिक ८ गतेबाट चार वर्षे पदावधि सकिएको छ । उनको वर्हिगमनपछि निगममा कार्यकारी प्रमुख रिक्त छ । हाल निगमकै वरिष्ठ कर्मचारी जनक कालाखेतिले निमित्त प्रमुखको जिम्मेवारी पाएका छन् । निगमको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी भने उपाध्यक्ष बिक्रम राईले पाएका छन् ।







प्रतिक्रिया