काठमाडौंमा साताको ४९२ उडान गर्न ३० एयरलाइन्सबीच प्रतिस्पर्धा

भैरहवामा भने दुई एयरलाइन्स बाध्यात्मक ३ उडान

6k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जाडो मौसममा हुने उडान तथा अवतरणको तालिका सार्वजनिक गरेको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय उडान तथा अवतरणको तालिका अनुसार ३० वटा एयरलाइन्सले काठमाडौं विमानस्थलमा सेवा दिइरहेका छन् ।

यी वायुसेवा मध्ये काठमाडौं आउने र फर्कने (उडान अवतरण)का लागि ४७ वटा विमानले उडान गर्छन् । यस्तो उडानमा हरेक दिन हुने र उडान र अवतरणका लागि अनुमति लिने वायुसेवाको उडान तालिका नै सातामा ३२९ वटा उडान भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको छ ।

प्राधिकरणका अनुसार अरु वायुसेवाले सातामा १६३ वटा उडानको अनुमति लिएका छन् । यो तालिकाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान सातामा ४९२ वटा भइरहेको छ । यस्तो उडान काठमाडौं विमानस्थलबाट हुने अन्तर्राष्ट्रियतर्फ दैनिक ३५ वटाको उडान र सोही संख्यामा अवतरण हुने गरेको देखिन्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३० वटा वायुसेवाले उडान प्रतिस्पर्धा गरिरहेका भए पनि भैरहवा भने सुनसान छ । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भने मुस्किलले २ वटा वायुसेवा ३ वटा मात्रै उडान गर्दै छन् ।

प्राधिकरणले सार्वजनिक गरेको विन्टर सेड्युलअनुसार भैरहवामा नेपाल वायुसेवा निगमको एउटा उडान मलेसियाबाट ट्रान्जिट भएर काठमाडौं आउने छ । निगमले हरेक सोमबार उक्त उडान गर्ने गरेको छ भने थाइल्याण्डबाट आउने थाइएयर एसियाले सातामा दुईवटा मात्रै उडान गर्न थालेको छ ।

थाइ एयर एसियाले थाल्याण्डबाट भैरहवामा हरेक सोमबार र बुधबार मात्रै उडान गर्छ । निगमको जहाजले सातामा सोमबार एक दिन मात्रै भैरहवा टचडाउन भएर काठमाडौं आउने हुँदा यो विमानस्थल अन्तर्राष्टिय उडानको सेवा, सुविधा भए पनि उडान अवतरण भने न्यून मात्रै छ ।

यो विमानस्थलमा आन्तरिक उडानमा मात्रै सीमित हुँदा अन्तर्राष्ट्रिय हब बनाउने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प बनाउने गरी भएको सरकारको प्रयास असफल भइरहेको देखिन्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडान अवतरणमा सबैभन्दा धेरै नेपाल वायुसेवा र हिमालयन एयरलाइन्सपछि विदेशी कम्पनीमा भारतीय वायुसेवा एयर इन्डियाले गर्ने गरेको छ । यो वायुसेवाले दिल्ली काठमाडौं दिल्ली दैनिक ६ वटा उडान गर्छ ।
नेपाल वायुसेवा निगमको भने सातामा ४४ वटा उडान गर्छ । यस्तो उडान औसतमा दैनिक ६ वटासम्म हुने गरेको छ ।

निगमसँग ४ वटा मात्रै जहाज भएकोले यसले गर्ने उडान अवतरणको संख्या अपेक्षाअनुसार हुन नसकेको उल्लेख छ ।

निगमको काठमाडौं दिल्ली दैनिक १ वटा, काठमाडौं वैग्लोर सातामा ३ वटा (मंगलबार, विहीबार र शनिबार), मुम्बै सानामा ३ वटा (आइतबार, बुधबार र शुक्रबार, बैंकक सातामा ३ वटा (सोमबार, बुधबा र शुक्रबार) गर्दै आएको छ ।

यसले हङकङ सातामा ३ वटा (मंगलबार, विहीबार शनिबार), ग्वाङ्जाओ सातामा ३ वटा (आइत, बुध र शुक्र), क्वालालम्पुर सातामा ५ वटा (आइतबार, मंगलबार, विही, शुक्र, शनि) उडान गर्छ ।

यस्तै निगमले काठमाडौं क्वलालम्पुर भैरहवा काठमाडौं सातामा एक (सोमबार), दोहा दैनिक एक, दुबई सातामा ६ वटा (मंगलबार बाहेक) उडान गर्छ । नारिता सातामा ३ वटा (आइत, मंगल र शुक्र) तथा दमाममा सातामा ३ (सोम, बुध र शनि) उडान गर्ने गरी तालिका स्वीकृत गराएको छ ।

निगमले दैनिक १० वटा उडान गर्दा सबैभन्दा बढी कमाउने गन्तव्य जापान बनेको छ । जापान उडान गर्दा निगमले एक वर्षमा ६६ हजार यात्रु बोकेको छ भने यसबाट ४ अर्ब ६९ करोड रुपैयाँ आम्दानी टिकट बिक्रीबाटै गरेको छ ।

निगमले कतारको दोहा उडान गर्दा वार्षिक ३ अर्ब टिकटबाटै आम्दानी गरेको छ । यो गन्तव्यमा यात्रु लाने र ल्याउने गरेर निगमले एक वर्षमा १ लाख १४ हजारलाई सेवा दिएको छ ।

वायुसेवा निगमको दुवई उडानबाट १ अर्ब ७८ करोड आम्दानी हुन्छ । निगमले दिल्लीबाट भने १७ करोड रुपैयाँमात्रै वार्षिक आम्दानी गरिरहेको छ । यो गन्तव्यमा निगमले सन् २०१५ देखि १७ सम्ममा साताको ७, १०, १४ हुँदै १७ वटासम्म उडान पुर्याएको थियो भने अहिले दैनिक एकवटामै सीमित भएको वायुसेवा निगमका प्रवक्ता अनिल घिमिरेले बताए ।

उनका अनुसार कोभिडपछि कम हुँदै गएको दिल्ली उडानमा जहाजको संख्या कम हुनु र निगमले अरु सेक्टरमा पनि उडान गर्ने गरेको कारण यहाँको तालिका घट्दै गएको हो ।

निगमको वाइडबडी जहाज लामो समय सिचेकमा गएर बसेका कारण घटेको दिल्ली उडान तालिका अझै बढाउन नसकेको निगमको भनाइ छ । जब कि नेपालमा दिल्लीबाट भारतीय वायुसेवाले दैनिक ६ वटा उडान गर्दा निगम भने एउटामा मात्रै खुम्चिएर बस्न बाध्य छ ।