
काठमाडौं । ‘जेनजी मुभमेन्ट नेपाल’ ले ऊर्जामन्त्री कुलमान घिसिङलाई भारतको पीटीसी इन्डियासँग ४३ करोड रुपैयाँ बराबरको विद्युत् खरीद सम्झौतामा संलग्न रहेको आरोप लगाउँदै तत्काल बर्खास्त गर्न माग गरेको छ ।
संस्थाका प्रवक्ता विजय शाहद्वारा जारी विज्ञप्तिअनुसार उक्त सम्झौताबिना स्वीकृति गरिएको र यसले देशको आर्थिक स्वाधीनतामाथि आघात पुर्याएको दाबी गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङ र प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालको मिलेमतोमा विद्युत् नियमन आयोगको स्वीकृति बिना सम्झौता भएको स्पष्ट प्रमाण छ।’
‘जेनजी मुभमेन्ट नेपाल’ ले यसलाई ‘सीधा-सिधा भ्रष्टाचार र राष्ट्रिय स्वार्थको बिक्री’ को संज्ञा दिएको छ।
संस्थाले सरकारसँग चार बुँदे माग गरेको छ
ऊर्जामन्त्री कुलमान घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्न ।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाललाई तत्काल पदमुक्त गरी सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत छानबिन थाल्न।
विद्युत् नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गरी सम्पूर्ण विद्युत् सम्झौताहरू सार्वजनिक गर्न।
राष्ट्रिय सम्झौतामा संलग्नहरूलाई जेल हाल्न र सम्पत्ति जफतको कानुनी प्रक्रिया तुरुन्त सुरु गर्न।
विज्ञप्तिमा भनिएको छ, ‘देशलाई लुट्ने कार्यमा मन्त्रीहरू संलग्न भएको पुष्टि भइसकेको छ। तत्काल मन्त्रीहरू बर्खास्त नगरिए सडक संघर्षमा उत्रन बाध्य हुने चेतावनी दिन्छौं।’








प्रतिक्रिया