
एजेन्सी । सोमबार साँझ भारतको राजधानी नयाँ दिल्लीको लालकिल्ला नजिकको मुख्य सडकमा विस्फोट भएको कार जम्मु–कश्मीरका एक चिकित्सकसँग जोडिएको पाइएको छ ।
उनको सम्बन्ध फरीदाबादमा बरामद भएको ठूलो मात्रामा विस्फोटक सामग्रीसँग जोडिएको एक आतंकवादी मोड्युलसँग रहेको दिल्ली प्रहरीको विशेष शाखाका दुई अधिकारीहरूले मंगलबार बताएका छन् ।
ती चिकित्सक पुलवामाका उमर उन नबीका भएको बताइएको छ । उनी हालै पक्राउ परेका जम्मु कश्मीरका अन्य दुई चिकित्सकहरूसँग सम्पर्कमा थिए र विस्फोट हुनुअघि सेतो ह्युन्डाई आई२० चलाइरहेका थिए भनी अनुमान गरिएको छ ।
ट्राफिक लाइट नजिक कारको गति सुस्त भएपछि विस्फोट भयो । त्यसले वरिपरिका सवारी साधनहरूलाई आगो लप्कामा पारिदियो । घटनामा नौजनाको मृत्यु भएको छ र २१ जना घाइते भएका छन् ।
दिल्ली प्रहरीले मंगलबार यस घटनामा आतंकवादसम्बन्धी गैरकानूनी गतिविधि (निवारण) ऐनअन्तर्गत मुद्दा दर्ता गरेको जनाएको छ । साथै, भारतीय दण्ड संहितामा रहेका हत्या र ज्यान मार्ने उद्योगसम्बन्धी धारा र विस्फोटक पदार्थ ऐनका प्रावधानहरू पनि लगाइएको छ ।
सोमबारको विस्फोट र फरीदाबाद मोड्युलबीचको सम्बन्ध कारको स्वामित्वको अनुसन्धानका क्रममा पत्ता लागेको हो ।
‘उमरसम्म पुग्न लामो अनुसन्धान गरियो,’ एक अधिकारीले बताए । ‘कार सलमान नाम गरेका व्यक्तिको नाममा दर्ता थियो ।
उनले भनेका थिए, कार उनले देविन्दर नामका व्यक्तिलाई बेचेका थिए । देविन्दरलाई पक्राउ गर्दा उनले तारिक नामका व्यक्तिलाई बेचेको भने । हामी तारिकलाई खोज्दै जाँदा कार उमरसँग रहेको थाहा पायौं । विस्फोटको समयमा उनी कारभित्र नै भएको हामीले खोजी गर्दा पत्ता लाग्यो । उनी आफ्ना चिकित्सक साथीहरू मुजम्मिल शाकिल र आदिल अहमदसँग एउटै आतंक मोड्युलमा कार्यरत थिए । आतंकवादीहरूलाई २८ सय किलो आरडीएक्ससहित पक्राउ गरिएको थियो,” अधिकारीले बताए ।
अर्का अधिकारीले भने, “हाम्रा प्रारम्भिक अनुसन्धान अनुसार उमर नै चालक थिए र सम्भवतः उनको मृत्यु भइसकेको छ । हामी शव परीक्षण गरिरहेका चिकित्सकहरूसँग पुष्टि गर्दैछौं । फरीदाबादमा उनका साथीहरू पक्राउ परेपछि उमरले नै यो योजना बनाएर कार्यान्वयन गरे । जम्मु–कश्मीर प्रहरीले पनि उनीहरूको सम्बन्धलाई पुष्टि गरेको छ । त्यसबाटै उमरलाई चिनिएको छ ।’
अनुसन्धानकर्मीहरूका अनुसार, एचआर२६सीई७६७४ नम्बरको आई२० कारमा तीनजना थिए । दिउँसो ४ बजेतिर पार्किङमा कार राखिएको थियो । ‘कार छत्ता रेल चौकबाट घुमाएर लोअर सुभाष मार्गतर्फ गइरहेको थियो । सीसीटीभी फुटेजमा कार सिग्नलतर्फ बढ्दै गर्दा गति घटाएको देखिन्छ । त्यसपछि विस्फोट भयो,’ एक अधिकारीले भने । विस्फोट सोमबार साँझ ६ः५२ बजेतिर भएको बताइएको छ ।
कारभित्र रहेको बमजस्तै उपकरण दुर्घटनावश विस्फोट भएको हुनसक्ने अधिकारीहरू बताउँछन् । विस्फोटका कारण उत्पन्न उच्च तापक्रमले एमोनियम जेल वा त्यस्तै विस्फोटक पदार्थ प्रयोग भएको संकेत गर्छ । प्रारम्भिक रूपमा कारको सीएनजी ट्यांक फुटेर विस्फोट भएको शंका गरिएको थियो ।
फरीदाबादमा कश्मीरका चिकित्सकहरू पक्राउ परेपछि छापा मार्दा करिब २९ सय किलो एमोनियम नाइट्रेट र बम बनाउन सकिने अन्य सामग्री बरामद भएको अधिकारीहरूले सोमबारै बताएका थिए ।
जम्मु–कश्मीर र हरियाणा प्रहरीसँगै केन्द्रीय अनुसन्धान एजेन्सीहरूले गरेको यो कारबाही अक्टोबरमा सुरु भएको अनुसन्धानबाट उत्पन्न भएको थियो । त्यतिखेर श्रीनगरको नौगामस्थित बुनपोरा क्षेत्रमा जैश–ए–मोहम्मद र अन्सार गजवत–उल–हिन्दका पोस्टरहरू टाँसिएका भेटिए । तिनीहरूले सुरक्षाबलहरूलाई धम्की दिँदै भारतविरोधी गतिविधिका लागि आह्वान गरेका थिए ।प्रहरीका अनुसार, अनुसन्धान गर्दै जाँदा पहिलोपटक आदिल अहमदसम्म कनेक्शन पुगेको पाइयो ।
उनलाई उत्तर प्रदेशको सहारनपुरबाट पक्राउ गरिएको थियो । फरीदाबादको एक कलेजमा एमबीबीएस चौथो वर्षका विद्यार्थी मुजम्मिल शाकिललाई त्यसपछि पुलवामाबाट पक्राउ गरियो । उनीहरूको बयानपछि फरीदाबादको धौज र फतेहपुर टागा गाउँमा स्वचालित राइफलसहित ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद गरिएको थियो ।
ती चिकित्सकहरूसँगै एक मौलवीसहित अन्य पाँच जनालाई पनि पक्राउ गरिएको छ ।







प्रतिक्रिया