सेबोन कर्मचारीले भने, ‘प्रतिबद्धता कार्यान्वयन नभए सशक्त आन्दोलन हुन्छ’

84
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारीले कात्तिक मसान्तसम्म सम्झौता कार्यान्वयन नभए सशक्त आन्दोलनमा उत्रिने बताएका छन् ।

सोमबार नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठन र नेपाल धितोपत्र बोर्ड कर्मचारी यूनियनले संयुक्त विज्ञप्ति जारी गर्दै सम्झौता कार्यान्वयन नभए सशक्त आन्दोलनमा उत्रिने जनाएका हुन् ।

उनीहरुले कर्मचारीहरूसँग भएका प्रतिवद्धताहरू कार्यान्वयन नभएमा कर्मचारी युनियनरसंगठनले आन्दोलनलाई निरन्तरता दिँदै अझ सशक्त ढंगबाट अगाडि बढ्ने बताएका छन् ।

‘अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डमा क्रियाशिल कर्मचारी यूनियन र संगठनबीच भएको वार्तामा अर्थ मन्त्रालय, कर्मचारीहरूले उठाएको मागहरू पूरा गर्न तयार भएको हो । साथै, कर्मचारीहरूले प्राप्त गरिरहेको सेवा–सुविधामा कटौती गर्ने र विगतमा प्राप्त गरेको सुविधा सरकारी बाँकी सरह फिर्ता गर्नुपर्ने अमानविय प्रावधान अर्थ मन्त्रालय र संञ्चालक बोर्डले कार्यान्वयन नगर्ने पनि सम्झौता भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

अर्थ मन्त्रालयबाट अहिलेको असहज परिस्थितिको पूर्ण रूपमा निकास नआँउदासम्म कर्मचारीहरूले ४८ दिन अघि शुरु गरेको आन्दोलनको स्वरुप परिवर्तन गर्दै अगाडि बढ्ने ।

सोही अनुसार दैनिक रूपमा हुदै आएको एक घण्टा धर्ना कार्यक्रमलाई जारी राख्दै, पेन डाउनको कार्यक्रम हाललाई स्थगित गर्दै तत्कालका लागि काममा फर्कने सम्झौता भएको उनीहरुको भनाइ छ ।

कात्तिक मसान्तसम्ममा कर्मचारीका मागहरु संबोधन गरी बोर्डको कर्मचारी सेवा शर्त नियमावलीमा अर्थ मन्त्रालयले आवश्यक संशोधन सहित स्वीकृति गर्ने सम्झौता भएको समेत कर्मचारीले जानकारी दिएका छन् ।