
एजेन्सी । चीनले ग्यालियम, जर्मेनियम, एन्टिमोनी र सुपर–हार्ड सामग्रीसँग सम्बन्धित सैन्य एवं गैरसैन्य दोहोरो उपयोग गर्न मिल्ने वस्तुहरूको अमेरिकातर्फ निर्यात स्वीकृति रोक्ने प्रतिबन्ध अस्थायी रूपमा निलम्बन गरेको छ ।
यो निलम्बन आइतबारदेखि लागू भई सन् २०२६ नोभेम्बर २७ सम्म रहनेछ भनी चीनको वाणिज्य मन्त्रालयले प्रकाशन गरेको वक्तव्यमा उल्लेख छ । मन्त्रालयले यसबारे थप विवरण भने दिएको छैन ।
चीनले सन् २०२४ डिसेम्बरमा यस प्रकारका वस्तुहरूमा निर्यात प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।
यसअघि शुक्रबार चीनले अक्टोबर ९ मा लगाइएका अन्य निर्यात नियन्त्रणहरू पनि निलम्बन गरेको घोषणा गरेको थियो ।
त्यसमा कतिपय दुर्लभ खनिज पदार्थ र लिथियम ब्याट्री सामग्रीमा लगाइएका प्रतिबन्धहरू पनि समावेश थिए ।
चीनका राष्ट्रपति सी चिनपिङ र अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यसअघि दुई देशबीच लगाइएका भन्सार शुल्क र अन्य व्यापारिक बन्देजहरू एक वर्षका लागि स्थगित गर्ने सहमति गरेका थिए ।








प्रतिक्रिया