बैंकहरुले लगानी बढाउन नसक्दा बढ्दै तरलताको दबाब, आइतबार ३० अर्ब प्रशोचन हुने

84
Shares


काठमाडौं । आइतबार नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ ।

निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ८४ दिनको लागि उक्त तरलता खिच्न लागेको हो ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि पछिल्लो ३ वर्षदेखि केन्द्रीय बैंकले निरन्तर तरलता प्रशोचन गर्दै आएको छ ।

रेमिट्यान्मा भएको उच्च वृद्धि र आयात व्यापार अपेक्षित बढ्न नसक्दा भुक्तानी सन्तुलन र चालु खाता पछिल्लो ३ आर्थिक वर्षदेखि लगातार बचतमा छ । जसले गर्दा बैंकहरुको निक्षेपको तुलनामा कर्जाको वृद्धिदर निरन्तर उच्च छ । बैंकहरुले अपेक्षित कर्जा बढाउन नसक्दा तरलताको चाप बढ्दै गएको छ ।

निक्षेप संकलन बोलकबोलका साथै स्थायी निक्षेप सुविधामार्फत तरलता प्रशोचन गर्दै अन्तरबैंक ब्याजदरलाई एउटा सिमाभित्र राख्ने प्रयासमा केन्द्रीय बैंक छ । तर पनि बैंकहरुले निक्षेपको ब्याजदर निरन्तर घटाइरहेका छन् ।

केन्द्रीय बैंकले ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरमा छोटो अवधिको लागि स्थायी निक्षेप सुविधा उपलब्ध गराइरहेको छ । त्यस्तै मध्यम अवधि र केही लामो अवधिको लागि तरलता प्रशोचन गर्न निक्षेप संकलन बोलकबोलको प्रयोग गरीरहेको छ ।

निक्षेप संककलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुने केन्द्रीय बैंकले जनाएको छ । पछिल्लो ३ पटक केन्द्रीय बैंकले १७५ दिनको निक्षेप संकलन बोलकबोल गरेकोमा यसपटक ८४ दिनको लागि बोलकबोल गरेको हो ।

कात्तिक २० को तथ्यांकअनुसार केन्द्रीय बैंकले बैंकिङ बैंकिङ प्रणालीमा अधिक तरलता भए पनि ब्याजदर व्यवस्थापन गर्न खिचेको तरलता रकम ८ खर्ब २९ अर्ब ८५ करोड रुपैयाँ छ ।