जेनजी आन्दोलनपछि सुस्तायो आर्थिक गतिविधि: जोगवनीबाट उल्लेख्य घट्यो आयात

राजस्व असुली पनि ४० प्रतिशतले कम


विराटनगर । जेनजी आन्दोलनपछि सृजित अस्थिर राजनीति, आगजनी, लुटपाट र विभिन्न समूहको आन्दोलनको घोषणाले मुलुकको आर्थिक गतिविधि सुस्ताएको छ ।

जेनजी आन्दोलनपछि जोगवनी नाकाबाट औद्योगिक कच्चा पदार्थ र व्यापारिक सामानको आयात उल्लेख्य रुपमा घट्दा भन्सार राजस्व असुली पनि झण्डै ४० प्रतिशतले घटेको छ। यसले मुलुकको आर्थिक गतिविधि सुस्त भएको संकेत गर्छ।

लगानीको वातावरण नभएसम्म र स्थिर सरकार निर्माण भएर स्थिर नीति नआएसम्म नयाँ लगानी गर्ने अवस्था नभएको अनि अहिले भइरहेको लगानीको पनि सुरक्षा कसरी गर्ने भन्ने स्थिति रहँदा मुलुकको आर्थिक गतिविधि प्रायः ठप्प भएको निजी क्षेत्रका प्रतिनिधिहरूको विश्लेषण छ ।

लगानीको सुरक्षा अभावमा उद्योग–व्यवसायीले लगानी नथप्दा बजार चलायमान छैन। बजारमा चहलपहल नबढ्दा आर्थिक गतिविधि बढ्ने कुरै भएन। कर्जाको माग नहुँदा वित्तीय संस्थाहरू निक्षेप थुपारेर बस्न बाध्य छन्। वित्तीय संस्थामा निक्षेप थुप्रिनु नै आर्थिक गतिविधि सुस्त हुनुको स्पष्ट प्रमाण भएको उद्योग–व्यवसायीको बुझाइ छ ।

उल्लेखित कारणकै कारण कोशी प्रदेशको आर्थिक गतिविधि पनि सुस्त छ। यसलाई प्रदेशको प्रमुख व्यापारिक नाका जोगवनीले पुष्टि गर्छ । अर्थात विराटनगर भन्सार कार्यालयमार्फत जोगवनी नाकाबाट हुने व्यापारिक कारोबार झण्डै ४० प्रतिशतले घटेको छ ।

दैनिक लक्ष्य १३ करोड असुली गर्ने भए पनि सामान्य अवस्थामा विराटनगर भन्सार नाकाबाट दैनिक सरदर झण्डै १०–११ करोडसम्म भन्सार राजस्व संकलन हुँदै आएको थियो । जेनजी आन्दोलनपछि यो नाकाबाट दैनिक सरदर ६–७ करोड मात्र भन्सार राजस्व असुली हुँदै आएको छ । विराटनगर भन्सार प्रमुख उमेश श्रेष्ठले भने, ‘पछिल्लो समय जोगवनी नाकाबाट आयात–निर्यात नै घटेपछि भन्सार राजस्व संकलन पनि झण्डै ४० प्रतिशतले घटेको छ।’

कात्तिकमा ३ अर्ब ५६ करोड राजस्व असुली गर्ने लक्ष्य थियो । तर विहीवारसम्म ३१ प्रतिशत अर्थात १ अर्ब १० करोड मात्र असुली भएको छ । ‘औद्योगिक कच्चा पदार्थ आयात अत्यन्तै कम भएको छ,’ श्रेष्ठले भने, ‘त्यससँगै तेस्रो मुलुकबाट आउने व्यापारिक सामानको आयात पनि घट्दा भन्सार राजस्व असुली प्रभावित भएको छ।’

गत वर्ष कात्तिकमा यो कार्यालयले २ अर्ब ३८ करोड ७९ लाख रुपैयाँ राजस्व असुली गरेको थियो । यही भदौमा ३ अर्ब ५० करोड राजस्व असुली लक्ष्य हुँदा २ अर्ब ८० करोड र असोजमा पनि त्यतै लक्ष्य हुँदा २ अर्ब ८८ करोड राजस्व असुली भएको तथ्याङ्क छ।

विराटनगर भन्सारको राजस्व संकलनको मूल्य आधार औद्योगिक कच्चा पदार्थको आयात हो । भन्सारले औद्योगिक कच्चा पदार्थ आयातबाट वार्षिक लक्ष्यको ७० प्रतिशत राजस्व असुली गर्दै आएको छ । बाँकी ३० प्रतिशत राजस्व व्यापारिक सामानको आयातबाट भइरहेको छ।

नयाँ लगानी गर्ने र औद्योगिक उत्पादन बढाउने अवस्था नै अहिले छैन भन्ने उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीको प्रतिक्रिया छ । ‘अहिलेको त्रासको अवस्थामा कसैले पनि नयाँ लगानी गर्ने सोच बनाएको पाइँदैन । बजारको माग पनि प्रायः शून्य छ,’ उनले भने, ‘भोली के कस्तो होला भन्ने त्रास छ । यस्तो अवस्थामा कोशीका उद्योगी–व्यवसायी आफ्नो भएको लगानीको सुरक्षा कसरी गर्ने भन्ने तनावमा छन् ।’

नयाँ लगानी गर्ने कुरा छैन, भएको लगानीलाई कसरी जोगाउने र उद्योग–व्यवसायलाई निरन्तरता दिन सकिन्छ कि सकिँदैने भन्ने तनावमा कोशीका उद्योगी–व्यवसायी रहेको राठीको भनाइ छ ।

‘स्थिर सरकार नभएसम्म आर्थिक गतिविधि बढ्ने अवस्था छैन,’ मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी भन्छन् ‘सरकार नै अस्थिर भएको अवस्थामा आर्थिक गतिविधि बढ्ने कुरै भएन । जेनजी आन्दोलनपछि राज्यका सबै अंग अस्थिर छन्। यस्तो अवस्थामा उद्योगीले नयाँ लगानी गर्ने सवालै आउँदैन। यस बेला उद्योगी–व्यवसायी आफ्नो लगानीलाई कसरी सुरक्षित राख्ने भन्नेमा मात्र केन्द्रित छन्।’

जेनजी आन्दोलनपछि निजी क्षेत्रको मनोबल नै टुटेको नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडा बताउँछन्। आन्दोलनले गठन गरेको सरकारले पनि निजी क्षेत्रको पीडालाई संवोधन गर्न नसकेको उनको आरोप छ । सारडाले भने, ‘अस्थिर सरकारकै कारण निजी क्षेत्रले लगानी गर्न नसक्दा मुलुकको आर्थिक गतिविधि कमजोर भएको हो।’

भएको लगानी जोगाउन समस्या रहेको र नयाँ लगानी गर्ने वातावरण नभएको उनी बताउँछन् । ‘अर्थमन्त्री रामेश्वर खनालले पनि निजी क्षेत्रलाई खासै सहयोग गरेनन्,’ सारडाले भने, ‘राज्यले औद्योगिक सुरक्षा त दिएन, उद्योगी–व्यवसायीले पाउनु पर्ने सुविधा पनि नपाउँदा औद्योगिक र व्यापारिक क्षेत्र प्रभावित भएको छ। सरकारले दिँदै आएको निक्षेप अनुदान पनि कटौती गरिएको छ।’ औद्योगिक कच्चा पदार्थ आयात गर्दा राखेको धरौटी रकम सहित भ्याट र अन्तशुल्क फिर्ता नगर्दा पनि आर्थिक गतिविधिमा गिरावट आएको सारडाको प्रतिक्रिया छ ।