नेपाल विकासशील मुलुकमा रूपान्तरण हुने विषयमा विचार गर्नुपर्छ: मुख्यसचिव

35
Shares

काठमाडौं । मुख्य सचिव एकनारायण अर्यालले नेपालले एलडीसी (अतिकम विकसित मुलुक) ग्र्याजुयसनमा पुनर्विचार गर्नुपर्ने बताएका छन् । उनले सरकारले सो विषयमा पहल गरिरहेको जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासंघले राजधानीमा आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस २.०’ मा बोल्दै मुख्य सचिव अर्यालले अहिले देशको आर्थिक अवस्था चुनौतीपूर्ण रहेको र एलडीसी ग्र्याजुयसनका सन्दर्भमा पुनर्विचार आवश्यक देखिएको बताए।

सन् २०२६ को नोभेम्बरमा नेपाल विकासशील मुलुकमा रूपान्तरण हुने तय भएको छ तर मुख्यसचिव अर्यालले ग्र्याजुयसनमा पुनर्विचार गर्नुपर्ने बताएका हुन् ।

‘सरकार वा निजी क्षेत्र कसैले पनि आर्थिक समृद्धिको आधार निजी क्षेत्र हो भन्ने कुरा जनतामाझ स्थापित गर्न सकेनन्, कुरा मात्रै भयो तर जनताले बुझेनन्,’उनले भने ।

मुख्य सचिव अर्यालका अनुसार सरकार लोकसेवा आयोगमार्फत् वार्षिक करिब १–२ हजार मात्र रोजगारी सिर्जना गर्छ, तर एउटै निजी क्षेत्रले ८–१० हजार रोजगारी सिर्जना गर्न सक्छ ।’तर, यो कुरा कसैले बुझ्न चाहेन, निजी क्षेत्रलाई अझ सशक्त बनाउनुपर्छ’ उनले भने ।

अर्यालले थप गरे कोभिड महामारीपछि सुधार हुँदै गरेको अर्थतन्त्र फेरि चुनौतीपूर्ण अवस्थामा पुगेको छ। क्रेडिट रेटिङका क्रममा पनि सकारात्मक संकेतहरू देखिए पनि आन्तरिक स्थायित्व र आत्मविश्वास अझै बलियो बनाउनुपर्ने छ । यसअघि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पनि एलडीसी ग्र्याजुयसनमा पुनर्विचार गर्नुपर्ने सुझाव दिएका थिए।

‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ भन्ने नाराका साथ आयोजित आर्थिक बहसमा प्रधानमन्त्री, मन्त्रीहरू, राष्ट्र बैंकका गभर्नर, निजी क्षेत्रका प्रतिनिधि तथा विकास साझेदारहरूको सहभागिता रहेको थियो।

महासंघले यसअघि पनि कोरोना महामारीपश्चात् पहिलो पटक यस्तै आर्थिक बहस आयोजना गरेको थियो। सो बहसमार्फत् महासंघले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्न माग गरेको थियो।