८० वर्षीय भारतीय व्यवसायी नादर, जसले दैनिक दान गर्छन् साढे ७ करोड

987
Shares

काठमाडौं । भारतले एडेलगिव हुरुन फिलान्थ्रोफी लिस्ट (परोपकार लिस्ट) २०२५ सार्वजनिक गरेको छ ।

सार्वजनिक भएको यो परोपकारी वा दानकर्ता लिस्टअनुसार यो वर्ष पनि शीर्षस्थानमा ८० वर्षीय शिव नादरले बर्चस्व कायम गरेका छन् ।

नादर भारतकै सबैभन्दा ठूलो दान गर्नेमा सूचीकृत भएका छन् । भारतको टेक्नोलोजी कम्पनी एचसीएलको फाउण्डर रहेका नादरले दैनिक ७ करोड ४१ लाख भारतीय रुपैयाँ दान गर्दैआएको उल्लेख छ । सन् २०२५ मा उनले कूल २७ अर्ब ८ करोड भारतीय रुपैयाँ दान गरेका छन् ।

उनले प्रतिदिन साढे सात करोड भारतीय रुपैयाँ परोपकारी कार्यमा खर्च गरेका थिए, जसका कारण उनी फेरि ‘भारतका सबैभन्दा उदार व्यक्ति’ को उपाधि पाएका छन् ।

उता मुकेश अम्बानीको रिलायन्स फाउन्डेसनले दैनिक १ करोड ७ लाख भारतीय रुपैयाँ दान गर्दै हुरुन परोपकार लिस्टमा दोस्रो नम्बरमा छ ।

यस्तै बजाज परिवारले दैनिक १ करोड २ लाख भारतीय रुपैयाँ दान गर्दै तेस्रो स्थान हात पारेको छ ।

नादर पछिल्लो ५ वर्षको अवधीमा चार पटक भारतको सबैभन्दा ठूलो दान गर्ने व्यक्तिको अग्रस्थानमा आउन सफल भएका छन् । नादर भारतको चौथो सबैभन्दा ठूलो धनी व्यवसायी मानिन्छन् । फोब्र्सको रियल टाइम बिलेनियर्स इण्डेक्सअनुसार नादरको सम्पति ३४.१ अर्ब भारतीय रुपैयाँबराबर छ ।

दान गर्ने सवालमा नादर एण्ड फ्यामेली सधै अग्रस्थानमा रहने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । सन् २०२५ मा यो परिबारले गरेको दान अघिल्लो वर्ष २०२४ को तुलनामा २६ प्रतिशतले बढी हो ।

पछिल्ला पाँच वर्षमा नादर फाउण्डेशनले मात्रै १०,१२२ करोड भारतीय रुपैयाँ दान गरेको छ ।

व्यक्तिगत दाताको सूचीमा पनि नादर परिवार नै अग्रस्थानमा छ । उनले व्यक्तिगत रूपमा २,५३७ करोड भारतीय रुपैयाँ दान गरेका छन् ।

नादरले दान गरेको अधिकाँश रकम शिक्षा, कला र संस्कृतिजस्ता क्षेत्रमा खर्च हुँदै आएको छ ।

भारतमा पछिल्लो समयमा परोपकार कामको लागि ठूलो संख्यामा दान दिने प्रवृति बढेको छ ।

एडेलगिव हुरुन फिलान्थ्रोफी लिस्ट २०२५ अनुसार भारतका १९१ जना ठूलो दानकर्ताहरुले २०२५ मा १०,३८० करोड भारतीय रुपैयाँ दान गरेका छन् । कूल प्राप्त दान अंकमा नादरले गरेको दानको योगदान करिब ४० % हिस्सा छ ।

पछिल्लो तीन वर्षको अवधीमा यस्तो दानमा ८५ प्रतिशतले बृद्धि भएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

रिपोर्ट अनुसार शीर्ष २५ दाताहरूले तीन वर्षमै ५०,००० करोड भारतीय रुपैयाँ परोपकारी प्रयोजनमा खर्च गरेका छन् । जसको औसत प्रतिदिन ४६ करोड रुपैयाँ बराबर हुन्छ ।

६० मुलुकमा एचसीएलको कारोबार

नादरले सन् १९७६ मा पाँचजना साथी मिलेर टेक्नोलोजी कम्पनी एचसीएलको स्थापना गरेका थिए । यो कम्पनीले सुरुआति समयमा ग्यारेजबाट आफ्नो कारोवार सुरु गरेको थियो । विस्तारै क्यालकुलेटर र माइक्रोप्रोसेसर बनाउन सुरु गर्यो ।

सन् २०२० मा नादरले एचसीएल टेक्नोलोजीको संस्थापक चेयरम्यान पद छाडेका थिए । उनको स्थानमा अहिले नादरका छोरी रोशनी नादर मल्होत्राले जिम्मेवारी सम्हालेकी छन् ।

एचसीएलको कारोबार विश्वभरको ६० मुलुकमा फैलिएको छ । यो ग्रुपमा हाल २ लाख २३ हजार जनाले काम गरिरहेका छन् ।

महिलाहरूको योगदान पनि उत्तिकै

यस वर्ष दान गर्ने अग्रणी महिलाको सूचीमा २४ जना सूचीकृत भएका छन् ।

त्यसमध्ये रोहिणी निलेकणी भारतको सबैभन्दा उदार महिला ठहरिइन् । उनले २०४ करोड भारतीय रुपैयाँ दान गरिन् ।
उनीपछि बायोकनकी संस्थापक किरण मजुमदारले ८३ करोड अनुसन्धान र विकासका लागि दान गरिन् । यस्तै बिना शाहले ६९ करोड शिक्षा क्षेत्रमा योगदान दिइन् ।

युवा र पेशेवर दाताहरू

जेरोधाका संस्थापक दाजुभाइ निखिल कमाथ (३९) र नितिन कमाथ (४६) यस वर्षको सबैभन्दा कान्छा दातामा परेका छन् । उनीहरूले रेनम्याटर फाउण्डेशनमार्फत १४७ करोड भारतीय रुपैयाँ दान गरेका थिए ।

त्यसैगरी बिन्नी बंसल (४२) ले१८ करोड र आदार पुनावाला (४४) ले भिल्लू पुनावाला फाउण्डेशनमार्फत १७३ करोड दान गरेका थिए ।

पेशागत जीवनबाट व्यक्तिगत रूपमा दान गर्नेहरूमा पूर्व एल एन्ड टी अध्यक्ष एएम नाइकले ५४ करोड, अमित र अर्चना चन्द्रले ४७ करोड) तथा प्रशान्त प्रकाश र अमीथा प्रकाशले १७ करोड भारतीय रुपैयाँ दान गरेका छन् ।